![]()
एजेन्सी,२ असोज ।
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्नो विजयी यात्रा कायम राखेको छ । घरेलु मैदानमा भएको खेलम पिएसजीले लियोनलााई २–० ले हराएको हो । लिगको यो सिजनमा पिएसजीको लगातार छैटौं जित हो ।
पिएसजीको जितमा गोल भने पिएसजीका खेलाडीले गरेका होइनन् । दुवै गोल लियोनका खेलाडीले आत्मघाती गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको अन्तिम १५ मिनेट लियोनका लागि घातक बन्यो ।
७५ औं मिनेटमा लियोनका गुएडिस फिल्होले आत्मघाती गोल गरेपछि पिएसजीले अग्रता लियो । ८६ औं मिनेटमा लियोनका मोरेलले फेरि आत्मघाती गोल गरेपछि पिएसजी २–० ले विजयी भयो । दोस्रो उपहार गोल पाउनुअघि पिएसजीले पेनाल्टीको अवसर पाएको थियो ।
तर पेनाल्टी प्रहार गरेका एडिसन काभानी गोल गर्नबाट चुके । नेइमार पनि पेनाल्टी प्रहारका लागि इच्छुक थिए । तर काभानीले पेनाल्टी प्रहार गरे र त्यसमा चुके । लगातार ६ खेल जितेको पिएसजी १८ अंकसहित शीर्ष स्थानमा छ ।


