![]()
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा सोमबार मतदान हुँदैछ । बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुत्त, डा. अयोधि प्रसाद यादवले आइतबार पत्रकार सम्मेलन गरी मतदान सञ्चालन गर्न सवै तयारी पूरा भएको जानकारी दिएका हुन् ।
१ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुन लागेको हो । यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधि चयन हुनेछन ।
आयोगले निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् आग्रह गरेको छ । असोज २ लाई जनप्रतिनिधि छनोट गर्ने पर्वका रुपमा मनाउन पनि अनुरोध गरेको छ ।
३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा
तेस्रो चरणको निर्वाचनमा झण्डै छ गुणाभन्दा बढी कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (६१ प्रतिशत) को उम्मेदवारी परेको छ । निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी परेको छ । नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार हुनुहुन्छ । वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा हुनुहुन्छ । निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहने छन् भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ ।
४४ वटा संस्थालाई पर्यवेक्षणको अनुमति
निर्वाचनमा पर्यवेक्षणका लागि आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नम्बर दुईका जनकपुर, बर्दिबास, बीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।


