![]()
काठमाडौं । दशै, तिहार छठ लगायतका राष्ट्रिय पर्वमा शुभकामना आदानप्रदान गर्दैै आफन्त, इष्टमित्र तथा साथीभाईलाई कोशेली लैजानु नेपालीहरुको प्रचलन नै हो । कोसेलीले सम्बन्ध नविकरण गर्नुकासाथै माया र सद्भावलाइ थप बलियो बनाउछ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ झलनाथ खनालले दशैं तिहार मनाउन घर जाँदै गरेका सबै दाजुभाई दिदीबहिनीहरुलाई पाँचवटा कोसेली लैजान सुझाव दिनुभएको छ ।
काठमाडौं ताप्लेजुङ सम्र्पक मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले गाउँ समाजमा राष्ट्र र राष्ट्रियता सम्बन्धी चेतना जगाउँदै मुलुक र जनताको समृद्धिको सुत्रसहितका कोशेली लगेर जान सुझाव दिनुभयो ।
१. राष्ट्रियतालाई समृद्ध गर्ने
पूर्व प्रधानमन्त्री खनालले राष्ट्रियतलाई समृद्ध बनाउने सन्देशसहितको कोशेली गाउँगाउँमा फैलाउने गरी जान सुझाव दिनुभयो । राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका लागि सबै नेपाली एकबद्ध हुन जरुरी रहेको कुरा भित्रैबाट बुझन जरुरी रहेको उहाँले बताउनुभयो । खनालले भन्नुभयो, ‘अहिले मुलुकको सीमाका विषयमा थुप्रै प्रश्न उठेका छन, सीमाको विवाद छ, सीमा मिचिएका छन, सुस्ता, कालापानीको विवाद यथावत छ, यो सबै हल हुनुपर्छ । ’
बेलुकी नेपालमा सुतेको मान्छे बिहान व्युँझदा भारतमा हुने अवस्थाको अन्त्य गर्नुपर्ने सन्देश कोशेलीका रुपमा गाउँमा पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।
२. कांग्रेसले लोकतन्त्र खोक्रो बनायो
पूर्व प्रधानमन्त्री खनालले लोकतन्त्रको सुदृढीकरण सम्बन्धी सन्देश दोस्रो कोशेलीका रुपमा गाउँगाउँमा पु¥याउन सुझाव दिनुभयो । २०६२÷०६३ सालको जनआन्दोलनपछि प्राप्त लोकतन्त्र साँचो लोकतन्त्र भएपनि यो कलिलो र कमजोर छ । यसलाई बिभिन्न तत्वले खोक्रो र समाप्त पार्ने षडयन्त्र गरिरहेका छन, त्यसको अगुवाई नेपाली कांग्रेसले गरिरहेको छ । खनालले भन्नुभयो, ‘ तपाईहरु बिचार गर्नुहोस कांग्रेस नेताहरुका अभिव्यक्ति र व्यवहार कस्ता छन ? कुनैपनि हिसाबले कांग्रेस लोकतन्त्र जोगाउन लागिपरेको प्रतित हुँदैन । लोकतन्त्र जोगाउन एमालेको नेतृत्व जरुरी छ, यो सन्देश कोशेलीका रुपमा गाउँगाउँमा पु¥याउनु पर्छ ।’
३ विकासका लागि कृषी, जलश्रोत र पर्यटन
वरिष्ठ नेता खनालले तीनवटै तहको निर्वाचनपछि संविधान कार्यान्वयन हुने र त्यसपछि विकासको युग सुरु हुने बताउनुभयो । विकासका लागि कृषीमा आधुनिकीकरण आवश्यक छ । त्यस्तै, जलश्रोत र पर्यटनको यथोचित विकास गरी गरीबि न्यूनीकरण गर्न सकिन्छ । यसबाट बेरोजगारी समस्या उन्मुलन हुने र अन्ततः जनता र मुलुक समृद्ध ह्ुने उहाँको भनाइ छ । यसका लागि केन्द्रीय सरकार मात्र नभइ प्रादेशिक र स्थानीय तह पनि संगसंगै अघि बढनुपर्ने सन्देश तेस्रो कोशेलीका रुपमा लैजानुपर्ने उहाँले बताउनुभयो ।
४.संस्कृतिको संरक्षण र प्रवद्र्यन
समृद्ध संस्कृतिको देश भएपनि अहिले संस्कृति क्षयीकरण हुँदै गैरहेको छ । सांस्कृतिक विविधताको संरक्षण, सम्बद्र्यन र प्रवद्र्यन जरुरी छ । यो अरु कसैले होइन नेकपा एमालेले मात्रै गर्न सक्छ, यो चौथो कोसेले हो ।
५. ‘शान्ति’ का आधारमा बिश्व सम्बन्ध
नेपाल स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र अखण्ड राष्ट्र हो । भूगोल सानो भएपनि संसारका कुनैपनि मुलुक भन्दा यो कम छैन । शान्ति प्रवद्र्यन गर्ने उद्देस्यसहित बिश्व सम्बन्ध स्थापित गर्नुपर्छ । चीन र भारतसंग पनि सन्तुलित सम्बन्ध राख्छौं । असमान सन्धीको पुनरावलोकन गर्नुपर्छ । हामीले मनमोहन अधिकारीको पालादेखि नै असमान सन्धी खारेजीको पहल सुरु गरिसकेका छौं । यो पाँचौं कोशेली हो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले २०६२/०६३ को आन्दोलनपछि समाजवादलाई लक्ष्य बनाएर अघि बढने चुनौती आएको र त्यो एमालेको नेतृत्वमा मात्रै पूरा हुने दावी गर्नुभयो । उहाँले प्रदेश नम्बर २ मा एमालेको जनमत पहिलो रहेकाले परिणाम पनि एमालेकै पक्षमा आउने दावी गर्नुभयो । उहाँले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमालेलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा एमाले सचिव एवम प्रचार बिभाग प्रमुख योगेश भट्टराईले अब मुलुकको नेतृत्व एमालेले गर्ने भएकाले त्यसका लागि तयार भएर बस्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा चागुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलाई सम्मान गरिएको थियो ।


