![]()
सर्लाही । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी र पहाडीबीच क्षेत्रीय नारा लगाएर एमालेले देशलाई विखण्ड गर्न खोजेको आरोप लगाउनु भएको छ ।
सर्लाहीको मलंगवामा चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘जातीय क्षेत्रीय नारा लगाएर एमालेले देशमा मुडभेडको अवस्था सिर्जना गर्ने काम गरेको छ । ’ उहाँले थप अगाडि भन्नुभयो, ‘एमाले, माओवादी र मधेसवादी दललाई स्थानीय निकायकै चुनावबाट जवाफ दिनु पर्ने समय आएको छ ।’
प्रधानमन्त्री देउवाले देशमा शान्ति र स्थायित्व कायम गर्न कांग्रेसको विकल्प नभएको धारणा राख्ुनुभयो । कांग्रेसले मात्र देशलाई दिशा दिने सक्ने कुरा बिगतमा राजा, राणाबिरुद्ध गरेको संघर्ष, संविधान जारी र संघीय लोकतन्त्र ल्याउन खेलेको भूमिका लगायतका उदाहारणबाट प्रष्ट भैसकेको उहाँले बताउनुभयो ।
मधेसलाई बाढीबाट जोगाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्य मन्त्री नीतीसकुमारसंग आफूले कुरा गरेको उहाँले बताउनुभयो । तराईमा बाढीको समस्या छिटै नै समाधान हुने आश्वासन उहाँले दिनुभयो ।
अहिले मधेसका जिल्लाको अवस्था नाजुक रहेको जिकिर गर्दै प्रधानमन्त्री देउवाले कांग्रेस जिते मात्र मधेशको विकास हुने दाबी गर्नुभयो ।


