![]()
ललितपुर । गत साउन २३ गते ललितपुर, कुसुन्तीमा लागु औषध दुव्र्यसनी र कारोवारीको अभियोगमा मारिएका प्रवीण खत्रीको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । टिचिङ अस्पताल महाराजगन्जको फोरेन्सिक ल्याबका अनुसार खत्रिको मृत्यु नजिकैबाट टाउकोमा गोली लागेर भएको देखिएको छ ।
वरिष्ठ चिकित्सक डा. हरिहर वस्तीले ‘घाउको प्रकृति हेर्दा नजिकैबाट गोली प्रहार भएको’ जानकारी दिए । फोरेन्सिक ल्याबले खत्रीको पोस्टमार्टम रिपोर्ट ललितपुर प्रहरीलाई बुझाइसकेको छ ।
महानगरीय अपराध महाशाखा टोलीले गत साउन २३ गते प्रवीणको घर घेरेको थियो । घर घेरिएपछि उनी दुवै हातमा पेस्तोल लिएर छतबाट भागेको प्रहरीले बताएको थियो । प्रहरीलाई एक राउन्ड गोली चलाएपछि उनले आफैंलाई गोली ठोकेको महाशाखाका तत्कालीन एसएसपी दिनेश अमात्यले बताएका थिए ।
प्रवीणका परिवारले भने प्रहरीले नै घरभित्र पसेर गोली हानेको बताउँदै आएका छन् ।


