![]()
काठमाडौं । निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न र गराउन कठोर बन्ने स्पष्ट पारेको छ ।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचारप्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोचना खेपेपछि आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिएको छ।
आयोगले निर्वाचन आचारसंहित उल्लंघन गर्ने कसैलाई पनि नछोड्ने जनाएको छ ।
आयोगले हालसम्म सबैभन्दा बढी आचारसंहिताको उल्लंघन सरकारबाटै भएको ठहर गर्दै अब एक्सनमा जाने चेतावनी दिएको छ । निर्वाचन आयोगको जानकारी बिनै आयोगको सचिव सरुवा गर्नुलाई आयोगले गम्भीरतापूर्वक लिएको आयोगका एक सदस्यले बताए ।
आगामी निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीको सहयोगमा ठाउँका ठाउँ कारबाही गर्न आयोगले देशभर निर्देशन सर्कुलेसन गरिसकेको छ ।
आचारसंहिताको पालना भए नभएकोबारे अनुगमन गर्न आयोगले टोलीसमेत परिचालन गरिसकेको छ । टोलीले निर्वाचन प्रचारप्रसार कानूनअनुरुप भए नभएको, पर्यवेक्षकले आचारसंहितापालना गरे नगरेको, निर्वाचन सम्बन्धी काम कारबाही स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा भए नभएको लगायतका विषयमा अध्ययन गरी नियमित रुपमा प्रतिवेदन बुझाउनेछ ।


