![]()
काठमाडौं । नेपालमै पहिलो पटक हेपाटाइटिस सी विरुद्धको औषधी उत्पादन सुरु भएको छ । म्याग्नस फर्माले नेपालमै पहिलो पटक हेपाइटाइटिस सी विरुद्धको औषधी उत्पादन सुरु गरेको हो । फर्माले आगामी सातादेखि ‘सोफुभीर चार सय’ नामबाट औषधी बजारमा ल्याउने जनाएको छ ।
स्वदेशमै हेपाटाइटिस सी विरुद्धको औषधीको उत्पादन सुरु भएपछि विदेशबाट ल्याउनुपर्ने झन्झट हट्ने कम्पनीको दावी छ । दुई वर्षदेखि औषधी उत्पादनको प्रयास थालेको म्याग्नस फर्माले तीन दिनअघि मात्र औषधी बिक्रिका लागि औषधी व्यवस्था विभागबाट स्वीकृति पाएको हो ।
विदेशी बजारबाट ल्याउँदा निकै महँगो पर्ने औषधी स्वदेशी बजारमा भने सस्तो मूल्यमा पाउन सकिने फर्माले जनाएको छ ।
विदेशबाट ल्याउँदा हजार सम्म पर्ने एउटा ट्याबलेट अब आठ सय रुपैयाँमा पाउन सकिनेछ । बजारको माग अनुसार औषधी उत्पादन गरिएको कम्पनीको भनाइ छ । माग र आवश्यकता अनुसार आगामी दिनमा औषधीको उत्पादन बढाउँदै लैजाने फर्माले जनाएको छ ।
नेपालमा वर्षेनी ३६ अर्ब रुपैयाँ बराबरको औषधी माग भएपनि स्वदेशी उत्पादनले भने १६ करोड हाराहारीमा मात्रै औषधी आपूर्ति गर्ने गरेको छ ।


