![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो पाँच दिने भारतको राजकीय भ्रमणबारे व्यवस्थापिका संसदको बैठकलाई जानकारी गराउनु भएको छ । आफनो भारत भ्रमणबारे केही विषयलाई लिएर नकारात्मक टिप्पणी भएपछि प्रधानमन्त्री देउवाले आफनो आशयलाइ बङग्याएर प्रस्तुत नगर्न राजनीतिक दल र संचारमाध्यमलाई आग्रह गर्नुभयो ।
आफूले संविधान संशोधनको विषयमा बोलेको कुराबारे राजनीतिक दल तथा सञ्चारमाध्यममा आएको टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री देउवाले नेपालको संविधान निर्माण, सर्वस्वीकार्यता र कार्यान्वयन नितान्त नेपाल र नेपाली जनताको आन्तरिक विषय भएको उल्लेख गर्नुभयो । यो विषयमा आफूले कसैसंग सम्झौता नगरेको र गर्ने कुरा पनि नभएको स्पष्ट पार्नुभयो ।
आफूले संविधान संशोधनका सवालमा जे भयो त्यही वास्तविकता अन्तर्राष्ट्रिय जगतलाई जानकारी मात्र गराएको उहाँले बताउनुभयो । यस्तो विषय अन्तर्राष्ट्रिय जगतलाई जनाकारी गराउनु अस्वभाविक नभएको उहाँको भनाई थियो ।
नेपालको छिमेकी तथा मित्र राष्ट्रबाट नेपालको पछिल्लो राजनीतिक घटनाबारे जिज्ञासा आउनु र त्यसबारे आफूले जानकारी दिनुलाई नाजायज भन्न नमिल्ने उहाँको तर्क थियो ।
प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयानमा छिमेकी वा अन्य कुनै मुलुकको हस्तक्षेप आफूहरुलाई स्वीकार्य नहुने पनि प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री देउवाले आफनो पाँच दिने भ्रमणलाई भारत सरकारले उच्च प्राथमिकता दिएको समेत उल्लेख गर्नुभयो । भ्रमणले नेपाल र भारतबीच विश्वासको आधारशीला खडा भएको उहाँले बताउनुभयो ।


