![]()
काठमाडौं । पार्टी भित्रै आलोचना भएपनि नेपाली कांग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि दृढ भएर पदीय जिम्मेवारी अनुसारको भूमिका निभाउन क्रियाशिल देखिनु भएको छ । पार्टी सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएकाबेला देउवाले पार्टी भित्र छलफल नै नगरी बिधान बिपरित निधिलाई कार्यवाहक सभापति तोक्नु भएको थियो । बिधानमा पार्टी उपसभापतिलाई कार्यवाहक दिनुपर्ने व्यवस्था भएपनि देउवाले निधिलाई कार्यवाहक तोक्नु भएको थियो । उपसभापति नभएको अवस्थामा कार्यवाहक दिंदा पार्टीमा छलफल हुनुपर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल असन्तुष्ट देखिनु भएको छ ।
वरिष्ठ नेता पौडेलको असहमतिकाबीच कार्यवाहक सभापति निधिले प्रदेश नम्बर दुइमा अशोज २ गते हुन गैरहेको स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखी तयारी अघि बढाउनु भएको हो । यसका लागि उहाँले शनिवार प्रदेश नम्बर दुईका सांसद, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिसंग संयुक्त छलफल गर्नुभएको छ । शनिवार प्रदेश नम्बर २ का सिरहा, सप्तरी, सर्लाही र महोत्तरीका जिल्लाको छलफल सकिएको र अब धनुषा, बारा, पर्सा र रौतहट जिल्लाको छलफल गर्ने नेता निधिले जानकारी दिनुभयो ।
बैठकमा प्रदेश नम्बर दुईका उम्मेदवारको टुंगो र निर्वाचन रणनीतिका विषयमा छलफल भएको थियो । संविधान संसोधन विधेयक संसदबाट पास गराउने विषय र तराईका जिल्लामा आएको बाढी र डुबान समस्याले केही ढिलाई भएको भन्दै कांग्रेसले भदौ दोश्रो साता भित्र सबै उम्मेदवारको नाम टुंगो लगाउने तयारी गरेको छ ।
छलफलपछि नेता निधिले उम्मेदवारको टुंगो सहमतिबाट नै लगाउने प्रयास भैरहेको जानकारी दिंदै भदौ २१ गते अगावै टुंगोमा पुग्ने बताउनुभयो ।
यसअघि कांग्रेसले साउन मसान्त सम्म सबै उम्मेदवारको नाम टुंगो लगाउने बताएको थियो । उम्मेदवार चयन सही नभएका कारण स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचनमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको भन्दै पार्टी भित्रै अझैपनि नेतृत्वको आलोचना हुने गरेको छ ।


