Breaking News.... EverestOnlineKhabar
June 19, 2026

अझै पनि नेपालको संविधानलाई स्वागत गरेन भारतले….संविधानप्रतिको पोजिसन यथावत

Loading

नयाँदिल्ली,९ भदौ ।
छिमेकी राष्ट्र भारतले नेपालको संविधानबारे आफ्नो ‘पोजिसन’ यथावत् रहेको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय समकक्षी नरेन्द्र मोदीले दुई चरणको स्थानीय चुनाव भएकामा बधाई दिए । साथै सबैसँग संवाद जारी राख्न र सबैको आकांक्षा समाहित गरी संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
तर, साँझ आयोजित संचार माध्यमलाई जानकारी दिन आयोजना गरिएको कार्यक्रममा विदेश सचिव सुब्रमण्यम जयशंकरले संविधान संशोधनमा भारतको‘पोजिसन’ यथावत् रहेको खुलासा गरे । यसको अर्थ नाकावन्दी अगाडी नेपालको संविधानप्रति भारतको धारणा जे थियो अहिले पनि त्यहि छ ।
सचिव जयशंकरले भनेः‘त्यो भनेको संविधान कार्यान्वयनको प्रक्रियामा समाजका सबै तह र तप्कालाई समेटेर अगाडि बढ्ने प्रयासलाई जारी राख्नुपर्छ र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित बन्नु पर्छ ।’ मोदीसँगको भेटमा प्रधानमन्त्री देउवाले संविधान संशोधन र मधेशकेन्द्रित दलहरुको माग सम्बोधन गर्न सरकारले गरेको प्रयास सेयर गरेको जयशंकरले बताए ।
दुई प्रधानमन्त्रीबीचको भेटमा चीन–भुटान सीमाको दोक्लाममा जारी तनावबारे कुनै कुरा नभएको जयशंकरले दाबी गरे । भारत र चीनको तनाव बढेका बेला भएको भेटमा दोक्लामबारे केही कुराकानी भएन त भन्ने प्रतिप्रश्नमा उनले हाँस्दै भनेः‘अहँ भएन ।’
कश्मीरको उरीमा आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका कारण सार्क शिखर सम्मेलन हुन सकेको छैन । तर, देउवा र मोदीबीच यसबारे कुराकानी नै नभएको जयशंकरको जवाफ थियो । जबकि, नेपाल सार्कको अध्यक्ष राष्ट्रसमेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed