![]()
नयाँदिल्ली,८ भदौ ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज औपचारिक रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट गर्दैहुनुहुन्छ । भेटमा आपसी हित र सम्बन्धका विषयमा विस्तृत छलफल हुने जनाइएको छ । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै र दुवै देशका प्रतिनिधिमण्डलसँग सामूहिक भेटवार्ता गर्ने कार्यतालिका छ ।
प्रधानमन्त्री देउवा आज बिहान राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थल पुगेर गान्धीप्रति श्रद्धाञ्जली ब्यक्त गरेपछि औपचारिक भेटघाटका कार्यक्रम शुरु गर्नुहुनेछ । राजघाटबाट प्रधानमन्त्री देउवा हैदराबाद हाउस पुग्नुहुनेछ जहाँ उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीसंग एक्लाएक्लै भेटवार्ता गर्नुहुनेछ ।
हैदराबाद हाउसमै दिउँसो १२ बजेपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा वार्ता हुनेछ । बिहीबार नै बेलुका उहाँले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटवार्ता गर्नुहुनेछ । बिहीबार नै दुवै देशका प्रधानमन्त्रीले कटैया कुशाहा र रक्सौल परवानीपुर प्रसारण लाइनको रिमोट कन्ट्रोलबाट उद्घाटन गर्नुहुनेछ । उद्घाटनपछि भारतबाट थप १ सय मेगावाट विजुली आयात गर्न सकिनेछ ।
यस्तै भूकम्पबाट क्षतिग्रस्त विद्यालय, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा र निजी आवास पुनर्निर्माण सम्बन्धि चारवटा सम्झौतामा बिहीबार नै हस्ताक्षर हुनेछ । भारतले यसअघि नै सहयोग घोषणा गरे पनि यी सम्झौतामा हस्ताक्षर भएको थिएन ।
द्विपक्षीय वार्तामा प्रधानमन्त्री देउवाले प्रतिवन्धित ५ सय र हजार दरका भारतीय नोट साटीदिन पनि आग्रह गर्ने तयारी गर्नुभएको छ । परराष्ट्र मन्त्री कृष्णबहादुर महराका अनुसार लागू औषधको अवैध ओसारपसार र दुरूपयोग नियन्त्रण र गुणस्तर निर्धारण सम्बन्धि दुई देशबीचमा सम्झौता हुने तय भइसकेको छ भने कतिपय सम्झौताका विषयहरू छलफलमै छन् ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँ सहयोग सम्झौताभन्दा पनि पुराना सहमति र सम्झौतालाई कार्यान्वयन तहमा ल्याउने विषयमा बढी जोड दिइने जानकारी दिनुभयो ।


