![]()
एजेन्सी,२४ साउन ।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले रियल मड्रिडका ग्यारेथ बेललाई क्लब भित्र्याउन आफू अरु क्लबका प्रशिक्षकसँग संघर्ष गर्न तयार रहेको बताएका छन् । तर त्यसका लागि रियल मड्रिडले बेललाई बेच्न चाहनु पर्ने उनको भनाई छ ।
बेल सन् २०१३ मा विश्व कीर्तिमानी मूल्यमा इंग्लिस क्लब टोटनह्यामबाट रियल मड्रिड गएका हुन् । बेल विश्वका धेरै राम्रा क्लब र प्रशिक्षकको नजरमा रहेको मोरिन्होले बताए ।
तर उनी रियल मड्रिडमा रहने निर्णय गरेकाले अहिलेलाई आफ्नो क्लब ल्याउने सम्भावना कम देखिएको मोरिन्होले बताए ।
तर रियल मड्रिडले बेललाई बेच्न चाहेमा आफू अरु सबै क्लब र प्रशिक्षकलाई पछि पार्दै उनलाई युनाइटेड ल्याउन तयार रहेको मोरिन्होको भनाई छ । बेलले आफू रियल मड्रिडमा खुशी रहेको बताउँदै आएका छन् ।
उनले गएको अक्टोबरमा रियल मड्रिडसँग सन् २०२२ सम्म क्लबमा रहने गरी नयाँ सम्झौता गरेका छन् । युरोपा लिग विजेता म्यानचेस्टर युनाइटेडले मंगलबार च्याम्पियन्स लिग विजेता रियल मड्रिडसँग युइएफए सुपर कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।


