Breaking News.... EverestOnlineKhabar
May 11, 2026

यस्ता छन् राजधानीमा प्रहरीको इन्काउन्टर शृंखला…..

Loading

काठमाडौ,२४ साउन ।
पछिल्ला वर्ष काठमाडौं उपत्यकामा प्रहरीले गोली चलाउनु सामान्यजस्तै हुन थालेको छ। चोरदेखि गुन्डानाइकेसम्मलाई प्रहरीले गोली हानेको छ। ३ भदौ ०७१ मा गुन्डानाइके कुमार घैँटे (कुमार श्रेष्ठ) प्रहरी मुठभेडमा मारिएका थिए। पुरधारास्थित आफ्नै घरअगाडि अपराध महाशाखाका प्रहरीले उनीमाथि गोली हानेका थिए।
यस्तै, २१ साउन ०७० मा राजधानीका अर्का गुन्डानाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीको गोलीबाट मारिएका थिए। अपराध महाशाखाकै टोलीले भीमढुंगामा उनीमाथि गोली हानेको थियो। तराईका जिल्लामा अपराधीहरू पटक–पटक प्रहरी मुठभेडमा मारिने गरेका छन्। राजधानीमा भने‘इन्काउन्टर’मा हालसम्म तीनजना मारिएका छन्।
प्रहरीले गोली हानी घाइते बनाएर धेरैलाई पक्राउ गरेको छ। १३ मंसिर ०७१ मा सुन्धाराको लुम्बिनी पाहुना घरबाट गोली हानी प्रहरीले फरार अभियुक्त छोटेलाल ठाकुरलाई पक्राउ गरेको थियो।
९ असार ०७२ मा प्रहरीले बबरमहलमा गोली हानी गुन्डागर्दीमा लागेका जसवन्त सिंहलाई पक्राउ गर्‍यो। गत वर्ष १९ असारमा सुन्धाराको बेबिलोन डिस्कोमा गोली हानी प्रहरीले फरार कैदी रावणजित लामालाई पक्राउ गरेको थियो।
गत २१ फागुनमा पनि स्वयम्भूमा अपहरणकारीलाई गोली हानी प्रहरीले पक्राउ गरेको थियो। नुवाकोटका तीन युवकलाई अपहरण गरी फिरौती माग्ने दुर्गा तामाङलाई प्रहरीले गोली हानी पक्राउ गरेको थियो।
त्यस्तै, गत वर्ष २३ पुसमा गोंगबुमा चोरीका अभियुक्त अमृत बयलकोटीलाई गोली हानी घाइते बनाएर पक्राउ गरेको थियो। कतिपय अवस्थामा प्रहरीले आवश्यकताले नै गोली हान्ने गरेको छ भने केही अवस्थामा सनकका भरमा गोली चलाउने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.