![]()
काठमाडौ,२२ साउन ।
राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको केन्द्रीय समिति बैठक आजवाट सुरु हुँदैछ । असोज २ हुने प्रदेश २ को स्थानीय तह निर्वाचनमा संविधान संशोधनबिनै सहभागी हुने कि नहुने भन्ने टुंगो लगाउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय समिति बैठक आइतबार राजधानीमा सुरु हुन लागेको हो । यसअघि राजधानीमै चार दिनसम्म चलेको पार्टी पदाधिकारी बैठकमा निर्वाचनमा भाग लिने–नलिने विषयमा मिश्रित धारणा राखिए पनि धेरैजसोले संशोधनबिनै चुनाव लड्न नहुने राय दिएका थिए ।
बैठकले एकीकृत पार्टीको आगामी रणनीतिसमेत तय गर्ने जनाइएको छ । पार्टी महासचिव जितेन्द्र सोनलले पदाधिकारी बैठकमा उठेका विषय संग्रह गरी केन्द्रीय समिति बैठकमा लगिने र त्यहीँबाट पार्टीको आगामी कार्यदिशा तय हुने बताए । बोल्ने क्रम नसकिँदा पदाधिकारी बैठक एक दिन लम्बिएको थियो । बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन, घाइते तथा सहिद परिवारका पीडा, आन्दोलनका बेला लगाइएका मुद्दा, पार्टी विधानलगायत विषयमा कुरा उठेका थिए । ६ दल एकीकृत भएर बनेको राजपामा १ सय ३४ जना पदाधिकारी छन् । त्यसमा करिब सय जनाले विभिन्न विषयमा आफ्नो धारणा राखेको सोनलले जानकारी दिए । पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल, महामन्त्री वृजेश गुप्तालगायत नारायणी पश्चिमका नेता भने पदाधिकारी बैठकमा अनुपस्थित थिए । पार्टीको नेतृत्व तह र पदाधिकारीमा पश्चिम तराईको सम्मानजनक उपस्थिति हुन नसकेकोप्रति उनीहरू असन्तुष्ट रहेको जनाइएको छ । पार्टी विधानप्रति पनि पश्चिमका नेताले असन्तुष्टि जनाएका छन् । पश्चिम तराईलाई सम्मानजनक स्थान दिएर असन्तुष्टि सम्बोधन गर्नुपर्ने विषय पनि पदाधिकारी बैठकमा उठेको छ । विधान संशोधन गरी ६ जना अध्यक्षमण्डलको दायरा बढाएर पनि पार्टीलाई एकजुट बनाउनुपर्ने कतिपय नेताको सुझाव थियो ।
पश्चिम क्षेत्रका गोविन्द चौधरी, नरसिंह चौधरी, पशुपति दयाल मिश्र, विजय गुप्तालगायत नेता पदाधिकारी बैठकमा उपस्थित रहेको सोनलले जानकारी दिए । उनले राजपा सम्पूर्ण तराई मधेसका जनताका लागि लडेको र सबैतिरको प्रतिनिधित्व गर्ने पार्टी रहेकाले पश्चिम तराईबाट आएका असन्तुष्टि सम्बोधन गरेर जाने पक्षमा रहेको बताए ।


