![]()
काठमाडौं । बिभिन्न राजनीतिक दलका सांसदहरुले स्थानीय तह संचालन बिधेयक छिटो भन्दा छिटो पारित गर्नुपर्ने बताएका छन । मंगलवारबाट छलफल सुरु भएको ‘स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ छिटो पारित गर्नुपर्ने उनीहरुले बताएका हुन ।
मंगलवार व्यवस्थापिका–संसद्, विकास समितिले आयोजना गरेको बैठकमा विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुले कानूनका अभावमा निर्देशनका भरमा स्थानीय तह सञ्चालन भएकाले छिटो विधेयक पारित गरिनुपर्ने बताएका हुन ।
सांसदले उठाएका विषयमा जवाफ दिँदै उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने ‘स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन सरकार तयार छ, तहमा नमूना कानून नपठाउँदा फरक फरक कानून बन्न सक्ने भएकाले नमूना बनाएर पठाइएको हो, जननिर्वाचित प्रतिनिधिलाई नियन्त्रित गर्न खोजिएको होइन । ’
विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएपछि दफावार छलफलका लागि सात सदस्यीय उपसमिति गठन गरिएको छ । समितिमा रामचन्द्र पोखरेल, आङटावा शेर्पा, गणेश पहाडी, वैजनाथ चौधरी, डा शिवजी राय यादव, कल्पना चौधरी र तुलसा राना छन् ।


