![]()
-नीरु खड्का
मेरो हातको मेहेन्दी सुक्दै छ
आमा
तपाइले सुम्सुमाउदै २० बर्षसम्म
स्याहार गरेको यो हातमा
आज
अर्कै घरकी आमाले साँचो
थमाएकी छिन
साँचो को भारीले मेहेन्दीको रङ
उड्दैछ आमा
पहिलोपल्ट बाले डोहोराएर
स्कुल पुराउदा देखेका ती सारा
सपना
बुट्टाबुटा भए र यी हातमा
रङिएका थिए
“मेरी छोरीले धेरै पढेस ”
“असल काम गरेस”
“गाउँमा खुसी छरेस”
भन्दै दिनु भएको आशीर्वाद
हातभरि धपक्क रङिएका थिए
पराइ घर को दैलो टेक्दा
इज्जतको घेरा नतोडियोस रे
इज्जतका लागी आधा सपना
त्यही सङारमा छोडी दिए
इज्जत नजावोस
तेसैले त दरो संग कसेकी छु मुठी
यही डरले
मेरो हातको मेहेन्दी उड्दै छ
आमा
तपाईंको मुटुको टुक्रा म
यही टुक्रालाई अन्जानको हातमा
राख्नु भो
मेरो कर्म मेहेनत र आत्मा
बिश्वास भन्दा
पराइको पाउमा भबिस्य
सुनिश्चित ठान्नु भो
तपाईंको बिश्वास आज अन्तै
मोडिदा
भक्कानिदै बगेका ताता आशुका
थोपाले
मेरो हातको मेहेन्दी बगायो
आमा
अनि पो देखियो मेरो कर्म रेखा
अनि आमा
आफै संग हारे म
जितोस दुनियाँले अब अर्थ रहेन
रहरहरु लाइ पटकपटक
मार्नुभन्दा
एकै पटकको बिश्राम निको
लाग्यो
बिबेक सुन्य भए म
तेसैले त
मेरो हात को मेहेन्दी कतै उड्यो
आमा
कतै इन्द्रेणी बनेर
पानी परेको बेला
अनि घाम पनि लागेको बेला
कतै इन्द्रेणी देखे
मलाइ सम्झनु है आमा ।।।


