![]()
काठमाडौं । स्वाइन फ्लु संक्रमित एक बिरामीको शिक्षण अस्पताल महाराजगंजमा निधन भएको छ । स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको उपचारका क्रममा निधन भएको हो । उनी उपचारका लागि गत सोमबार अस्पतालमा भर्ना भएका थिए ।
अर्यालको मृत्युपछि स्याङजाको वालिङ तथा आसपासका क्षेत्रमा अरु पनि स्वाइन फ्लूका बिरामी भेटिन सक्ने अनुमान गरिएको छ । त्यस क्षेत्रका वासिन्दामा पनि त्रास फैलिएको छ । यस सम्बन्धी थप अध्ययन र स्वाइन फ्लूको नमूना परीक्षणका लागि काठमाडौँबाट एक टोली वालिङ जाने भएको छ ।
स्वाइन फ्लू बंगुरबाट मानिसमा सर्ने भएकाले घर नजिकै बंगुरहरु नपाल्न चिकित्सकले सुझाव दिएका छन । यस्तै, स्वाइन फ्लूबाट बच्न हात नमिलाउने, अंकमाल नगर्ने, मास्कको प्रयोग गर्ने, भीडभाडमा नजान तथा संक्रमित वस्तुको सम्पर्कमा नरहन पनि चिकित्सकको सुझाव छ ।


