![]()
काठमाडौ,९ साउन ।
निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार प्रधानन्यायाधीश गोपाल पराजुलीले आयोगका अध्यक्ष कमलनारायण दासलाई सपथ गराए । लगतै अध्यक्ष दासले सदस्यहरुलाई सपथ दिलाएका छन् ।
आयोगको कार्यालय सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रहेको भवनमा रहनेछ । आयोगको टिओआरमा कार्य प्रारम्भ गरेको मितिले २१ दिनमा प्रतिवेदन बुझाउनु भनिएको छ । आयोगले प्रदेश र संघीय संसदको निर्वाचन क्षेत्र निर्धारण गर्दा स्थानीय तह विभाजन समेत गर्न पाउनेछ । तर, एउटा वडालाई दुई निर्वाचन क्षेत्र बनाउन पाइँदैन ।
आयोगका सदस्य माधव अघिकारीले भनेः‘कार्यालय र कर्मचारी व्यवस्थापन भएपछि काम सुरु गर्छौ । र सरकारले तोकेको २१ दिनमा नै प्रतिवेदन बुझाउनेछौं ।’ सरकारले बिहीबार सर्वोच्चका पूर्व न्यायाधीश दासको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो ।


