![]()
काठमाडौ,५ साउन ।
कांग्रेस नेतृत्वको सुस्त कार्यशैली र गुटबन्दीका कारण पार्टी संगठन कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै राष्ट्रिय राजनीतिमा क्रियाशील कोइराला परिवारका तीन नेताले बुधबार एकै स्वरमा पार्टी संगठन एक बनाउने अभियान सुरु गर्ने उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री सशांक कोइराला निवास टोखामा उनीसहित केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाबीच भएको भेटघाटमा यस्तो उद्घोष गरिएको हो ।
पारिवारिक भेटघाट भनिएपनि राजनीति र पार्टी नेतृत्वको कार्यशैलीलाई लिएर लामो छलफल भएको थियो । तीन कोइरालाले सम्पन्न दुई चरणको स्थानीय तहको चुनावमा कांग्रेस दोस्रो हुनुमा पार्टी नेतृत्वको अलोकप्रिय निर्णय र गुटबन्दीका आधारमा टिकट वितरणलाई मुख्य कारक भएको निष्कर्ष निकालेका थिए ।
वीपी पुत्र संशाक, नोना पुत्र शेखर र गिरिजाप्रसाद पुत्री सुजाताबीच वैचारिक रुपमा एक रहेको सन्देश दिनसमेत यस्तो भेटघाट गरिएको केन्द्रीय सदस्य शेखर कोइरालाले बताए । पार्टी संगठन चलायमान हुन नसकेको भन्दै पार्टीमा जस्तै सरकारमा पनि प्रधानमन्त्री शेरवहादुर देउवाको शैली सुस्त रहेको निष्कर्ष उनीहरुले निकालेका थिए । नेतृत्वको काम गर्ने शैलीमा परिवर्तन नआउँदा पार्टी संगठनलाई कमजोर बनाउने भन्दै शेखर र सुजाताले पार्टी नेतृत्वमा रहेका देउवालाई झकझकाउन महामन्त्री सशांक कोइरालाको ध्यानाकर्षण गराएका थिए ।
महामन्त्रीमा रहेर पनि क्रियाशील भूमिकामा नरहेको भन्दै त्यसलाई सुधार गर्नपनि सशांकलाई दुई कोइरालाले सुझाव दिएका थिए । महामन्त्री कोइरालाले समूहका नाममा हुने छलफल र गुटबन्दीप्रति पनि आफूलाई चित्त नबुझेको बताएका थिए ।
बैठकमा पार्टी नेतृत्वमा आएको १५ महिना बित्दा पनि देउवाले पदाधिकारी नियुक्ति गर्न नसकेको, केन्द्रीय कार्यसमिति, विभाग र समितिहरुलाई पूर्णता नदिएकामा तीनै कोइरालाले असन्तुष्ट पोखेका थिए । त्यही शैली सरकारमा देखिन थालेपछि त्यसको असर समेत पार्टी संगठनमा पर्ने भन्दै महामन्त्रीतहबाटै नेतृत्वलाई बारम्बार सुधारउन्मुख हुन दबाव दिनुपर्नेमा जोड दिएका थिए ।
शेखरले असोज २ मा हुने प्रदेश नम्वर २ को चुनावमा कोइराला परिवारका तीन सदस्य नै अगल–अलग ठाउँमा खटिएर पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने बताए ।


