Breaking News.... EverestOnlineKhabar
May 12, 2026

प्रधानन्यायाधिश पराजुलीले भनेः‘ अब म स्मार्ट जस्टिस सिस्टममा जान्छु’

Loading

काठमाडौ,२ साउन ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायालयको पहुँच बढाउनु आफ्नो कार्यकालको मुख्य उद्देश्य भएको बताएका छन्। पछिल्लो समय वैदेशिक रोजगारमा जाने क्रमसँगै पारिवारिक अपराधको संख्या बढे पनि त्यस्ता मुद्दा धेरै कम मात्र कानुनी सुनुवाइमा आउने अवस्था औंल्याउँदै उनले भनेः‘न्याय सेवाको पहुँच बढाउन मेरा केही कार्ययोजना छन्। पारिवारिक मुद्दामामिला सहज रूपमा निष्कर्षमा पुर्याउन पारिवारिक इजलास गठन गर्ने मेरो योजना छ।’
पराजुलीले आइतबार संसदीय सुनुवाइ क्रममा उक्त कुरा बताएका हुन्। संवैधानिक परिषदबाट सिफारिस भएका पराजुलीलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरिसकेको छ। संसदीय सुनुवाइकै क्रममा उनले फुटकर मुद्दाको कार्यविधि सुधार गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए। सक्षम पक्षले एउटै सुनुवाइमा धेरै वकिल राख्दा अदालतको समय व्यवस्थापनमा कठिनाइ उत्पन्न भएकाले त्यसलाई व्यवस्थापन गर्ने आफ्नो योजना रहेको उनले बताए। कार्यविधि कानुनमा सुधार नभएकाले न्याय सेवामा समस्या आएको उनले औंल्याए। संसदमा विचाराधीन उक्त विधेयक चाँडो पारित भए अदालतको काम–कारबाही सहज हुने उनको भनाइ छ।
सर्वोच्चलाई सरुवा–बढुवा लगायत प्रशासकीय अड्डा–अदालतबाट हुनुपर्ने कामको बोझ नबोकाउने गरी कानुन बने सहज हुने उनले बताए। उनले फैसला कार्यान्वयनको प्रभावकारितामा जोड दिँदै फैसला नटेर्नेका लागि राज्यले दिने सेवासुविधा रोक्न प्रस्ताव गरे पनि कानुनी रूप पाउन नसकेको गुनासो गरे। न्यायालयप्रतिको जनआस्था बढाउने क्रममा उनले मुस्कानसहितको न्याय सेवा आफ्नो कार्ययोजनामा अघि सारेका छन्। अनलाइनमा आधारित‘स्मार्ट जस्टिस सिस्टम’ उनको अर्को अवधारणा हो।
पराजुलीले दोस्रोपटक संसदीय सुनुवाइमा आएको स्मरण गर्दै अघिल्लोचोटि आफूमाथि परेको उजुरीबारे पनि सुनुवाइमा बोलेका थिए। ‘तीन वर्ष एक महिना २० दिनअघि असंवेदनशील र झुट उजुरी ममाथि परेको थियो। एक जना माननीयले तपाईं कमन्डलु लिएर देवघाट गए हुन्न भन्नुभएको थियो। अहिले मविरुद्ध उजुरी छैन, मैले यस अवधिमा गुनासो आउन दिएको रहेनछु भन्ने लागेको छ,’ उनले भने। आफूले न्यायाधीश करिअरमा २६ वर्ष बिताएको जानकारी गराउँदै उनले न्याय सेवा पद्धति र प्रणालीमा चल्ने पेसा भएको बताए।
न्यायालयलाई जनताप्रति जवाफदेही बनाउन सक्षम र पहुँचयोग्य तथा जनआस्थामा आधारित न्याय व्यवस्था र न्यायिक सुशासनमा उनले जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.