Breaking News.... EverestOnlineKhabar
May 12, 2026

मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाई,मंगलबार विस्तार हुने सत्तारुढ दलका नेताहरुको दावी…

Loading

काठमाडौ,१ साउन ।
पटक–पटक सरेको मन्त्रिपरिषद् विस्तार अझै कहिले हुने हो एकिन छैन् । तर सत्तारुढ दलका नेताहरु भने आँउदो मंगलबार मन्त्रिपरिषद् विस्तार हुने दावी गर्दै आएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको झन्डै डेढ महिना हुँदैछ । तर, २३ मन्त्रालय अझै मन्त्रीविहीन छन् । मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरूको भाका सरेको सर्यैछ । पछिल्लोपटक असार मसान्तसम्म गर्ने भनिएको मन्त्रिपरिषद् विस्तार अब ३ साउनमा गर्ने तयारी गरिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशबाहिर रहेको, मन्त्रालय बाँडफाँड तथा सरकारमा सहभागी हुने दलको टुंगो नलाग्दा सरकार विस्तार हुन नसकेको हो । मन्त्री सिफारिसका लागि बनेको कार्यदलका सदस्य रमेश लेखकका अनुसार कांग्रेस र माओवादीबीच ३ साउनमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।
राप्रपा र संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने विषयमा समेत छलफल चल्दा केही ढिलाइ भएको उनले बताए । संविधान संशोधन प्रक्रिया अघि बढाउने सत्तारूढ दलरूको तयारीका कारण पनि सरकार विस्तार ढिलाइ भएको हो । तर, संशोधनमा दुईतिहाइ नपुग्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा सरकार विस्तार गर्ने निर्णयमा पुगेका हुन् । कांग्रेस र माओवादीबीच आकर्षक मन्त्रालय भागबन्डामा खासै विवाद छैन ।
गृह, परराष्ट्र र सहरी विकास माओवादीले लिइसकेको छ । कांग्रेसको भागमा अर्थ, शिक्षा र श्रम मन्त्रालय परेका छन् । बाँकी आकर्षक मन्त्रालयमा पनि समस्या नदेखिएको नेताहरू बताउँछन् । माओवादीले स्वास्थ्य र ऊर्जामा दाबी गरेको छ । कांग्रेसले भौतिक पूर्वाधार, सञ्चार, कानुन लिने मोटामोटी सहमति भइसकेको छ । कांग्रेसभित्र नेता रामचन्द्र पौडेल पक्षलाई कुन–कुन मन्त्रालय दिने भन्नेमा समस्या देखिएको छ । साथै, कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का र आफ्नै पक्षका नेतालाई समेत समेटेर मन्त्री चयन गर्न प्रधानमन्त्री देउवालाई सकस परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.