![]()
काठमाडौ,३१ असार ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउन महिनाभर बनाउन माग गरेका छन् । उनीहरुले स्थानीय तहमै मतदाता नामावली संकलनको व्यवस्था मिलाउन र आफू बसेकै जिल्लाबाट पनि नाम दर्ता गर्न पाउनुपर्ने माग समेत छन् ।
आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै साउन १ गतेदेखि १५ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा तोकेको छ । शुक्रबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवलाई छुट्टा छुट्टै भेटेका कांग्रेस र माओवादीका नेताहरुले आयोगले दिएको १५ दिनको समयसीमा अपुग हुने भन्दै अझै १५ दिन थप्न माग गरेका थिए ।
भेटपछि कांग्रेस नेता बालकृष्ण खाँणले विदेशमा रहेका नेपालीलाई कसरी मतदानमा सहभागी गराउन सकिन्छ र त्यसका लागि त्यहाँ नै मतदाता नामावली संकलन गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा पनि छलफल भएको जानकारी दिए । कांग्रेसको टोलीमा नेताहरु आनन्दप्रसाद ढुंगाना, रामहरि खतिवडा, महेन्द्र यादवलगायत थिए ।
यसैगरी, नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पनि पार्टीको तर्फबाट नामावली संकलन ७४४ स्थानबाटै हुने तथा त्यसका लागि समयावधि बढाउन आयोगसँग आग्रह गरेका थिए । आयोगका कायम मुकामय सचिव महेश्वर न्यौपाने ७४४ स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन, आफू रहेको जिल्लाबाट आफ्नो स्थायी ढेगाना भएको स्थानमा मतदान गर्ने व्यवस्थाका लागि नाम दर्ता र १५ दिनका लागि तोकिएको समय अपुग भएकाले बढाउन राजनीतिक दलका नेताहरुले आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए ।


