Breaking News.... EverestOnlineKhabar
May 12, 2026

आईतबार मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी…..

Loading

काठमाडौ,२९ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (१ साउनमा) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। शनिबारसम्म मन्त्रीको टुंगो लगाउने र आइतबार विस्तार गर्ने सहमति सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रबीच भएको छ। प्रधानमन्त्री सचिवालयले भन्योः‘ माओवादी अध्यक्ष शुक्रबार नेपाल फर्केपछि शनिबार दुई दलबीच मन्त्रालय बाँडफाँड टुंग्याएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ ।’ पत्नी सीताको उपचारका लागि प्रचण्ड बुधबार थाइल्यान्ड गएका छन्। उनी फर्केपछि माओवादीले मन्त्रीहरूको टुंगो लगाउनेछ।
प्रधानमन्त्री देउवाले २४ जेठमा पद तथा गोपनीयताको शपथ लिएपछि कांग्रेस र माओवादीबाट ३–३ र लोकतान्त्रिक फोरमबाट एक गरी सातजनालाई मन्त्री बनाएका थिए। दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार संविधान संशोधनपछि गर्ने उनको तयारी थियो। तर, प्रमुख प्रतिपक्षी एमाले र राप्रपा सहमत नहुँदा संशोधनका लागि दुईतिहाइ नपुग्ने भएपछि देउवा मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका हुन्।
कांग्रेस र माओवादीबीच मन्त्रालयको भागबन्डा अझै मिलेको छैन। दुई पार्टीबीच कुन मन्त्रालय कसले राख्ने र कुन दलले कति मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन। स्रोतका अनुसार प्रधानमन्त्री देउवा कांग्रेसलाई ११ र माओवादीलाई ८ मन्त्रालय हुने गरी बाँडफाँड गर्ने र बाँकी मन्त्रालय अन्य दललाई दिने मनस्थितिमा छन्। माओवादीले भने १० मन्त्रालय मागेको छ। कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुन सदस्य रहेको मन्त्रालय बाँडफाँड कार्यदलमा सहमति हुन सकेन।
पहिलो चरणमा कांग्रेसले अर्थ, शिक्षा र श्रम तथा रोजगार तथा माओवादी केन्द्रले गृह, परराष्ट्र र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। माओवादीले सामान्य प्रशासन, आपूर्ति, स्वास्थ्य, कृषि विकास, भौतिक पूर्वाधार तथा यातायात र वन तथा भू–संरक्षण मन्त्रालय दाबी गरिरहेको छ। कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात र वन तथा भू–संरक्षण मन्त्रालय आफैँ राख्न चाहेको छ। कांग्रेसमा रामचन्द्र पौडेल पक्षले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दाबी गरेको छ भने अर्का नेता खुमबहादुर खड्काले वन मन्त्रालय दाबी गरेका छन्।
माओवादीले पार्टीका तर्फबाट मन्त्री हुनेको नामावली टुंग्याएको छ। कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदलले मन्त्रीहरूको नामावली टुंग्याएर पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएको छ। कार्यदलले सिफारिस नामलाई अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो। माओवादीले प्रदेश नं.१ बाट मोरङ–४ का निर्वाचित सांसद शिवकुमार मण्डललाई मन्त्री बनाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरेको छ। प्रदेश नं. २ बाट प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्। सोही प्रदेशका गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्री बनाउन कार्यदलले सिफारिस गरेको छ। माओवादीले प्रदेश नं. ३ बाट रामेछाप–२ का सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासनमन्त्रीका लागि कार्यदलले सिफारिस गरेको छ। प्रदेश नं. ४ का हितराज पाण्डेलाई दोहोर्‍याउने कि तनहुँकी आशा खनाललाई मन्त्री बनाउने टुंगो नलागेको माओवादी स्रोतले बताएको छ। प्रदेश नं. ५ का कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र प्रदेश ६ का जनार्दन शर्मा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। माओवादी कार्यदलले प्रदेश नं.६ बाट कालिकोटका सांसद महेन्द्रबहादुर शाहीलाई ऊर्जामन्त्रीका लागि सिफारिस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.