![]()
काठमाडौ,२५ असार ।
माओवादी केन्द्रले स्थानीय तह चुनावमा पार्टीको समग्र अवस्थाबारे समीक्षा गर्न बैठक गर्ने भएको छ । साउन २ गते पेरिसडाँडा मुख्यालयमा डाकिएको पार्टी सचिवालयको विस्तारित बैठकमा पहिलो र दोस्रो दुवै चरणको चुनाव समीक्षा गरिनेछ । केन्द्रका एक नेताले प्रदेश २ बाहेकका सबै जिल्ला इन्चार्जलाई समेत डाकेर जिल्लागत ब्रिफिङ लिने तयारी भएको बताए । प्रदेश २ मा भने असोज २ का लागि चुनाव स्थगित भएको छ । दुवै चरणका स्थानीय तह चुनावमा ३८ तहको जितसहित माओवादी केन्द्र तेस्रो हैसियतमा देखिएको छ । माओवादी सचिवालयमा ८२ सदस्य छन् । नेता अग्निप्रसाद सापकोटाले सचिवालयको विस्तारित बैठकमा संगठन सुदृढीकरण र आगामी चुनावका लागि रणनीति अख्तियार गर्ने जानकारी दिए ।
यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राज्यले अझै पनि दलितमाथि उपेक्षा जारी राखेको बताएका छन् । संविधानमा दलितका लागि प्रगतिशील व्यवस्थाहरू थुप्रै भए पनि कार्यान्वयन पक्ष धिमा रहेको उनले आरोप लगाए । स्थानीय तहको चुनावमा निर्वाचित हुने दलितहरूको संख्या ठूलो रहेको भन्दै प्रतिनिधित्व अझै बढाउँदै लैजान आफूले काम गर्ने उनको भनाइ थियो ।


