![]()
कञ्चनपुर,२२ असार ।
संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर १ वटा निर्वाचित काँग्रेस सभासद दिवान सिंह विष्टको गृह क्षेत्रमै स्थानीय तहको निर्वाचनमा कांग्रेस पराजित भएको छ । क्षेत्र नम्बर १ को निर्णायक ठाउँ मानिएको अहिलेको बेलौरी नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेकपा एमालेले जित हासिल गरेको छ । नेपाली कांग्रेस भने तेस्रो स्थानमा झरेको छ । नगरपालिकाको प्रमुखमा निर्वाचित नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरीले ६ हजार ७ सय ६४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार पल्लवराज भट्टले ६ हजार ४ सय ७ मत प्राप्त गर्नुभयो ।
कांग्रेसको आधार क्षेत्र मानिएको बेलौरी नगरपालिकामा नेपाली कांग्रेसले पराजय भोगेको छ । बेलौरी नगरपालिकामा नेपाली कांग्रेसले ५ हजार ४ सय १२ मत प्राप्त गरेको छ । बेलौरी नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी चित्राकुमारी चौधरी निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी राधा कँडेललाई ६ सय २७ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । माओवादी केन्द्रकी उपप्रमुखकी उम्मेदवार राधा कँडेलले ६ हजार १ सय २१ र एमालेकी चित्रा चौधरीले ६ हजार ७ सय ४८ मत प्राप्त गर्नुभयो ।
माओवादी केन्द्रकी उम्मेद्वार कँडेल चुनावको केहिदिन अघि मात्रै नेकपा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुभएका यज्ञ कँडेलकी धर्मपत्नी हुन् । निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने बेलौरीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर चुनावी अभियानमा हुनुहुन्थ्यो । उहाँ संविधान सभा निर्वाचन २०७० मा नेपाली कांग्रेसका दिवान सिंह विष्टसंग पराजित हुनुभएको थियो ।


