Breaking News.... EverestOnlineKhabar
May 12, 2026

२४ घण्टामै १ सय ४ नेपालीसहित हजारभन्दा बढी पक्राउ

Loading

मलेसिया,१८ असार ।
मलेसियामा २४ घण्टाभित्रै १ सय ४ नेपालीसहित एक हजारभन्दा बढी विदेशी कामदार पक्राउ परेका छन् । गैरकानुनी आप्रवासीविरुद्ध मलेसियाले सुरु गरेको देशव्यापी धरपकड अभियानअन्तर्गत २४ घण्टायता १ हजार ३५ जना पक्राउ परेका छन् । तीमध्ये १०४ जना नेपाली छन् ।
स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार पेराकबाट ९ जना, केलाङ–कापरबाट ५ र जोहोरबारुका विभिन्न स्थानबाट ९० जना नेपाली पक्राउ परेका हुन् । मलेसियाली सरकारले गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रवासीका लागि पछिल्लो पटक सञ्चालन गरेको दर्ता कार्यक्रमको समयावधि सकिएको भोलिपल्ट (जुलाई १) देखि नै देशव्यापी धरपकड थालेको हो ।
उक्त अभियान सुरु गरेको २४ घण्टायता प्रमुख सहरहरु जोहोरबारु, पेनाङ, केलान्तान, क्वालालम्पुर, मलक्का, पर्लिस, सारावक, पेराक, केडाह, नेगरी सेम्बीलान, पाहाङ र लाबुवानका विभिन्न स्थानमा छापा मारिएको र उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
पक्राउ पर्नेहरुमा नेपालसहित वंगलादेश, इन्डनेसिया, म्यानमार, पाकिस्तान, फिलीपिन्स, थाईल्यान्डलगायत विभिन्न मुलुकका नागरिक रहेका छन् । तीमध्ये अधिकांश बंगलादेशी (५१५ जना) छन् । पक्राउ पर्नेमध्ये १०१ जना महिला र ३ जना बालबालिका समेत छन् । अन्य देशका नागरिकको तुलनामा पक्राउ पर्ने नेपालीहरु न्युन संख्यामा छन् । पक्राउ परेकाहरुलाई कालोसूचीमा राखेर पुनः मलेसिया आउन नपाउने गरी उनीहरुकै देश फिर्ता पठाइने अध्यागमन अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.