![]()
काठमाडौ,१५ असार ।
प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पहिलो अग्निपरिक्षामा सफल भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा दोस्रो चरणको स्थानीय निर्वाचन उत्साहका साथ सकिएको छ । अब ७५ जिल्लामध्ये ८ वटा जिल्लामा मात्रै चुनाव हुन बाँकी छ, जहाँ असोज २ गते मतदान हुँदैछ । शेरबहादुर देउवा प्रधानमन्त्री बनिरहँदा धेरैलाई आशंका थियो, कतै उनले निर्वाचन नै पो नगराउने हुन् कि ? विगतमा चुनाव गराउन नसकेजस्तै उनी फेरि असक्षम सावित हुने त होइनन् ? यस्तो आशंकाकै वीचमा प्रधानमन्त्री देउवाले सत्ता सम्हालेका थिए । तर, उनी अहिले सफल देखिएका छन् ।
सरकार सम्हालेलगत्तै प्रधानमन्त्री देउवाले जेठ ३१ को चुनाव सारेर असार १४ मा पुर्याए । उनले दुई नम्बर प्रदेशको चुनाव सारेर असोजमा पुर्याइदिए । यसरी मध्य वर्षायाममा घोषणा गरिएको चुनाव सफल नहुने धेरैले विश्लेषण र आशंका गरेका थिए । तर, प्रधानमन्त्री देउवाले दोस्रो चरणको स्थानीय चुनाव सफल बनाएर आफूमाथि लागेको दाग पखालेका छन् ।
दुई नम्बर प्रदेशको चुनाव सार्नु अप्रिय निर्णय नै भएता पनि यसमा देउवाको बुद्धिमत्ता प्रमाणित भएको छ । दुई नम्बर प्रदेशको चुनाव सारेर देउवाले राजपाको बहिस्कार आन्दोलनलाई अलग–थलग बनाइदिएका छन् । र, यो चुनावलाई पहिलो चरणको भन्दा पनि शान्तिपूर्ण बनाइदिएका छन् । पहिलो चरणमा जस्तो दोस्रो चरणमा खासै झडपका घटना भएनन् । र, कसैले पनि ज्यान गुमाउनु परेन ।
दोस्रो चरणको चुनाव सफल बनाएपछि प्रधानमन्त्री देउवाले यसलाई उत्साहजनक भनेका छन् । र, यसले आगामी निर्वाचनलाई पनि सहज बनाएको प्रधानमन्त्रीको विश्लेषण छ ।आशंका र चुनौतीका बावजुद पनि चुनाव सफल बनाएकोमा हामी सबैले देउवा सरकारलाई धन्यवाद दिनैपर्छ । तर, अझै पनि प्रधानमभन्त्री देउवा चुनौती र आशंकाहरुबाट मुक्त भइसकेका छैनन् । उनका सामु दुईवटा पहाडजस्तै ठूला चुनौतीहरु बाँकी नै छन् ।


