Breaking News.... EverestOnlineKhabar
April 19, 2026

थबाङमा ३६ वर्षपछि पहिलोपटक बहुदलीय प्रतिस्पर्धाःकस्ले मार्ला बाजी….?

Loading

रोल्पा,९ असार ।
रोल्पाको थवाङमा ३६ वर्षपछि पहिलो पटक बहुदलिय प्रतिष्पर्धा हुनेभएको छ । देशभर स्थानीय निर्वाचन बहिष्कारमा उत्रिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो आधार इलाका थबाङलाई पनि निर्वाचनविरुद्ध लाग्न निकै ठुलो प्रयास गर्‍यो । तर, स्थानीयले गाउँको नेता आफैं चुन्न सक्ने गरी दुई दशकपछि आएको अवसर खेर फाल्न चाहेनन् । निर्वाचनमै जाने अडान कसी त्यसका लागि नेकपाको स्थानीय संगठनलाई दबाब दिए । अन्ततः पार्टीकै स्थानीय नेताहरु स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएका छन् । बहिष्कारमा मनाउन लामो प्रयास गरेका थबाङी नेता सन्तोष बुढामगर निराश भएर रुकुमतिर लागे ।
नेकपानिकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सदस्य अमित घर्ती मगर गाउँपालिका अध्यक्षमा लडेका छन् । उनी दिनरात गाउँबासीका साथ चुनाव प्रचारमा खटिइरहेका छन् । निर्वाचन बहिष्कार गर्दा गलत व्यक्ति शक्तिमा आउने सम्भावना भएकाले पार्टी नीतिविपरीत स्वतन्त्र रूपमा उम्मेदवारी दिएको घर्तीले बताए । साढे तीन दशकयता स्थानीय स्तरका हरेक निर्णयमा एकजुट रहँदै आएका थबाङबासी यसपालि पनि चुनावका लागि एक भएका छन् । २०३८ सालदेखिको कम्युनिस्ट गढको परिचय खुकुलो बनाउँदै थबाङले दलीय रुपमा पनि विविधता अँगालिसकेको छ । ३६ बर्षपछि पहिलोपटक कांग्रेस र एमालेले यहाँ पार्टी कार्यालय स्थापना गरेका छन् ।
पहिलोपटक थबाङमा ठूलो चारतारे झन्डा फहराएको छ । एमाले पनि संगठन विस्तार गरी चुनावी स्पर्धामा होमिएको छ । माओवादी फुटपछि पहिले मोहन बैद्य र पछि चन्दले कब्जा गरेको गाउँ अब उनीहरुको मात्र नियन्त्रणमा रहेन । माओवादी केन्द्र पनि यहाँ चन्दको प्रभुत्व बढ्न नदिन शक्ति परिचालन गरिरहेको छ । नेकपा त्यसलाई प्रतिकार गर्ने योजनामा छ । अब स्थानीय तह अधिकारसम्पन्न भएकाले गाउँविकास र बजेटको नेतृत्व आफ्नो हातमा पार्न माओवादी केन्द्र र नेकपाका स्थानीय कार्यकर्ता लागिपरेका छन् । चुनावमा जित्नेले पाँच वर्षसम्म थबाङको नेतृत्व गर्दै स्रोतसाधनमा पहुँच राख्ने भएकाले सबै चुनावी दौडमा छन् ।
पुष्पकमल दाहाल र सन्तोष बुढामगरलाई जिताउन पहिलो संविधानसभा निर्वाचनमा सबैले एकमुष्ट माओवादीलाई भोट हाले । २०७० को दोस्रो संविधानसभा निर्वाचन सबैले बहिष्कार गरे । तर, अब थबाङीले पहिलोपटक बिभिन्न पार्टीलाई मतदान गर्दै छन् । बहुदलिय प्रतिस्पर्धा गर्न पाएकोमा अन्य पार्टीका नेता खुसी छन् । पहिलोपटक प्रवेश गरेका काँग्रेस र एमालेका नेता कार्यकर्तालाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए । ठूलो संघर्षपछि मात्रै अन्य पार्टीले प्रवेश पाएको एक बर्षदेखि थबाङमै बसेर एमाले संगठन बिस्तारमा लागेका हितबहादुर रोकाले बताए । दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट सभासद् लडेका उनी अहिले थबाङमै गाउँपालिका अध्यक्ष लड्दैछन् ।
कांग्रेसले स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्दै निर्वाचन गतिबिधि चलाइरहेको छ । लामो समय गाउँबाट विस्थापित भएकी काँग्रेस नेत्री श्रीकुमारी रोका अहिले उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी अभियानको नेतृत्व गर्दै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed