![]()
चितवन,२५ बैशाख ।
मुग्लिन–नारायणगढ सडक सोमबारदेखि आउँदो जेठ तीन गतेसम्म चौबिसै घण्टा खुल्ला हुने भएको छ । स्थानीय तहको चुनावलाई ध्यान दिँदै यस्तो निर्णय गरिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । उनका अनुसार सबै मजदुर पनि चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउजाउको क्रम चल्ने र चुनावी कार्यक्रम पनि भइरहने भएकाले १० दिन बाटो खुल्ला गर्ने निर्णय गरिएको हो ।
आइतबारसम्म यो सडक बिहान १० बजेदेखि ४ बजेसम्म ६ घन्टा बन्द हुँदै आएको छ । अहिलेसम्म यस सडक खण्डको ४७ प्रतिशत काम पूरा भएको छ । निर्माण सम्झौता भएको यही वैशाखमा दुई वर्षको म्याद पूरा भएपछि निर्माण आधा पनि काम नहुँदा फेरि म्याद थप गरेर निर्णाण कार्य अघि बढाइएको छ ।
आउँदो पुसको पहिलो हप्तासम्मका लागि समय थप गरिएको आयोजनाले जनाएको छ । सडक खण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा अहिले काम भइरहेको छ ।
विभिन्न ६ वटा निर्माण कम्पनीले तीन खण्ड छुट्याएर काम गरिरहेका छन् । काम ढिलाइ हुँदा यहाँ आवतजावत गर्ने यात्रु प्रभावित हुँदै आएका छन् । यहाँ दैनिक १० हजार गाडी आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए ।
अघिल्लो महिनामा यहाँ सुख्खा पहिलो खसेर दुई जनाको ज्यान गएपछि सतर्कता बढाइएको छ ।


