Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

चितवन,२० साउन ।
चितवनको भरतपुर महानगरपालिका–१९ मा अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्ने भए पनि बिहानैदेखि मत हाल्न मतदाताहरु लाइनमा लागेका छन् ।
पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत गत वैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतपत्र च्यातिएपछि विवाद भएको थियो । निर्वाचन आयोगले यहाँ पुनः मतदान गर्न निर्णय गरेसँगै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले आयोगको निर्णय सदर गर्दै फैसला गरेपछि यहाँ आज पुनः निर्वाचन हुन लागेको हो ।
कूल ३ हजार ७ सय ९७ मतदाताले ३ मतदानस्थलका ६ वटा मतदान केन्द्रबाट आज मतदान गरिरहेका छन् । मतदानलाई सफल पार्न मतदान अधिकृतसहित ३६ कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भरतपुर महानगरपालिकामा माओवादी–कांग्रेस गठबन्धनबाट रेणु दाहाल मेयरकी उम्मेदवार छिन् भने एमालेबाट देवी ज्ञवाली छन् ।
वर्षाले मतदान नबिथोलियोस् भनेर प्रत्येक केन्द्रमा पाल व्यवस्था गरिएको प्रजिअ भट्टले जानकारी दिए । घरबाट आउँदा मतदातालाई असुविधा भए पनि केन्द्रमा नभिज्ने व्यवस्था मिलाइएको उनले जनाए ।
वैशाख ३१ को चुनावमा उक्त वडामा २ हजार ८ सय ९७ मत खसेको थियो । गणना क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि अन्योल छाएको थियो । माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निकै दिन लगाएर निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय लिएको थियो । तर पुनः मतगणनाको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले पनि आयोगकै निर्णयअनुसार फैसला गरेपछि पुनः मतदान गर्न लागिएको हो । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले शुक्रबारका लागि मतदान मिति तोकेको थियो ।
गणनाका क्रममा एमालेका ज्ञवालीले अग्रता लिएका छन् भने निकट प्रतिद्वन्द्वीका रूपमा माओवादीकी दाहाल छिन् । मतदान भइसकेका अन्य सबै वडाको गणना भइसके पनि २० नम्बर वडाको भने बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed