![]()
काठमाडौ,१ असार ।
असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ। निर्वाचन आयोगले उम्मेदवारी दर्तादेखि मतदान नहुन्जेलसम्म भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई निर्देशन दिएको हो।
निर्वाचन आयुक्त इला शर्माले असार १४ गते प्रदेश नम्बर १, २, ५ र ७ मा हुने निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता सुरु हुने हुँदा तत्काल आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र निर्वाचनका लागि सहज वातावरण निर्माण गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको बताए। उनले भनिन्ः‘हामीले चारवटै प्रदेशको सुरक्षा अवस्थाबारे सुरक्षा निकायका अधिकारीसँग जानकारी लियौं, शुक्रबार मनोनयन दर्ता हुने भएकाले तत्काल सुरक्षाको उचित प्रबन्ध गर्न र राजनीतिक वातावरण निर्माणका लागि सहयोग गर्न निर्देशन दिएका छौं ।’
बैठकमा गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन सुरक्षा रणनीति तथा पूरक सुरक्षा योजनासमेत तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जानकारी गराएका थिए।
बैठकमा निर्वाचन आयुक्तहरूले विशेषगरी प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) लगायत दलले चुनाव बिथोल्ने गतिविधि बढाएको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराएका थिए। बैठकमा प्रमुख आयुक्त यादवसहित आयुक्तहरू इला शर्मा, दाहाल, सुधीरकुमार शाह र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव गोपीनाथ मैनाली र सुरक्षा निकायका तर्फबाट गृहसचिव, रक्षासचिव तथा नेपाली सेनाका बलाधिकृत रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत सहभागी थिए।
यसैबीच, निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। आयुक्त नरेन्द्र दाहालले सम्पूर्ण तयारी पूरा भइसकेकाले अब ठूला राजनीतिक दलले छिटो उम्मेदवार घोषणा गरेर थप राजनीतिक वातावरण बनाउनुपर्ने बताए। उनले भनःनिर्वाचनका लागि सबै तयारी पूरा भइसकेका छन्। स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोलेर काम भइरहेको छ। निर्वाचन सामग्री सबै जिल्लामा पुगिसकेका छन्, निर्वाचनका लागि चार सय ६१ वटै स्थानीय तहका जनता उत्साहित छन्। शुक्रबार उम्मेदवारी दर्तापछि मुलुक निर्वाचनमय हुन्छ ।’
उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकाले अब मिति सारिए उचित नहुने बताए। सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का दुई सय ८३ स्थानीय तहमा वैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ।


