![]()
काठमाडौं। आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिने ६ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुंगो लागेको छ । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ ।
पीपीएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ । पीपीएलका लागि महत्वपूर्ण मानिएको मैदानसहित पिच निर्माणकार्य भइरहेको सो अवसरमा जानकारी दिइयो ।
बिहीबार घोषणा गरिएको टोलीमा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् ।
चितवन राइनोजको टोली स्वामित्व युवा व्यावसायी राहुल महरासहितको टोलीले गरेको छ । ‘मार्की प्लेयर’ राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् । त्यसैगरी, विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्वक्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् ।
बुटवल ब्लास्टर्सको टोली स्वामित्व रामबहादुर विष्टसहितको व्यावसायिक युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी रहेका छन् । पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषावकर रहेका छन् ।
एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सन्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छ्न । हुलास काठमाडौं रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छा र मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन् ।
टोली र मार्की प्लेयर घोषणा भएसँगै पीपीएलको ‘अक्सन’ आगामी आइतबार हुनेछ । अघिल्लो दुई साता दर्ता गरिएका खेलाडीबीच अक्सन गराइनेछ ।
पीपीएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरिएको छ । क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व खेलाडीलाई राखिएको छ ।


