![]()
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामप्रति प्रश्न गरेका छन्। मंगलबार आफ्नै निवास खुमलटारमा सम्पादकहरूसँग भेट गर्दै अध्यक्ष प्रचण्डले सरकारका कामकारवाहीले जनताले कतिको सुविधा पाए भन्ने प्रश्न ज्वलन्त रहेको बताए।
‘दुई तिहाइको सरकार बनेको छ। तर जनताका समस्या समाधान हुन्छन् कि हुदैनन् भन्ने प्रश्न यथावत छ’, प्रचण्डले भने। संविधानको मर्मअनुसार राजनीतिक समझदारीमा मुलुक अघि बढाउनुपर्ने उनले बताए।
संसद समस्या समाधानको वैधानिक निकाय बनेको समेत उनले स्पष्ट पारे। उनले सरकार बनेपछि आफू धेरै ठाउँ पुगेको बताउँदै आफूहरूको काम गराइमै समस्या छ कि भन्ने प्रश्न उठेको बताए।
यस्तै, भारत भ्रमणको क्रममा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामो छलफल गरेको खुलासा गरे। उनले मोदी अब एसियामा सबै मिलेर अघि बढ्ने योजनामा रहेको बताए। ‘अब भारत र चीनबीच हिजोको जस्तो अवस्था नरहेको मोदीजीले मलाई भन्नुभयो’, उनले भने, ‘चीनमा पनि त्यस्तै देखियो नेपालको स्थायित्व भारत र चीन दुवैका लागि राम्रो भन्ने सन्देश मैले दिए।’


