![]()
बीबीसी । माल्दिभ्समा विभिन्न आलोचनाकाबीच आमनिर्वाचन सुरु भएको छ । उम्मेदवारहरु चीन र भारतीय खेमामा विभाजित भएकाले पनि यी मुलुकले निर्वाचनलाई नजिकबाट हेरिरहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
विपक्षी गठबन्धनले निर्वाचन आयोग राष्ट्रपति अब्दुल्लाह यामिनीको तर्फबाट काम गर्ने संयन्त्रजस्तोमात्र भएको भन्दै स्वतन्त्ररुपमा अनुगमन गर्न नदिएको आरोप लगाएको छ । तर, निर्वाचन आयोगले आरोप अस्वीकार गरेको छ ।
चुनावमा उम्मेदवार रहेका वर्तमान राष्ट्रपति यामिनी चीननिकट मानिन्छन् । विपक्षी उम्मेदवार इब्राहिम मोहम्मद सोलिह भारतलगायत पश्चिमा मुलुकसँग नजिक मानिन्छन् ।
युरोपियन युनियन र अमेरिकाले निर्वाचनमा चासो व्यक्त गर्दै प्रजातान्त्रिक अवस्थामा सुधार नआए नाकाबन्दी लगाउने चेतावनी दिएका छन् ।
मतदानको पूर्वसन्ध्यामा प्रहरीले विपक्षीको मुख्यालयमा छापा मारेको स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन् । विगत केही वर्षयता माल्दिभ्स राजनीतिक अस्थिरतासँग जुधिरहेको छ । विभिन्न ११ सय ९२ टापु मिलेर बनेको माल्दिभ्सको जनसंख्या चार लाखमाथि छ ।


