![]()
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईटी विज्ञको रुपमा कार्यरत पेमेन्ट गेटवेको काम गर्दै आएको ई–सेवा कम्पनीका सीईओ असगर अलीविरुद्ध उजुरी परेको छ । काठमाडौंका जनकराज शर्माले उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टाछुट्टै उजुरी परेको हो ।
राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीको दर्ता नम्बर १०५, अख्तियारमा परेको उजुरीको २३५७ र प्रधानमन्त्री कार्यालयमा परेको उजुरीको दर्ता नम्बर २०७३ रहेको छ । उजुरीमा अलीले प्रधानमन्त्री कार्यालयको आईटी विशेषज्ञ भएको फाइदा उठाउँदै उनले राजनीतिक शक्तिको आडमा सरकारको विभिन्न विभाग तथा मन्त्रालयलयहरुका अधिकारीहरुलाई प्रभावमा पारेर इ–सेवाको व्यापार विस्तार हुने गरी सफ्टवेयरहरु त्यसअन्तर्गत सहभागि गराई पेमेन्ट गेटवेको काम गर्दै आएको उल्लेख छ ।
उनले सरकारको स्वामित्वमा भएको पेमेन्ट टेक्नोलोजीलाई प्राथमिकता नदिई जनताको पैसा इ–सेवामा राख्न लगाई इ–बैंकिङ सञ्चालन गर्दै आएको दाबीसहित उजुरीमा भनिएको छ, ‘यसको प्रमाणको रुपमा कृषि विकास बैंक र इसेवा अन्तर्गतकै एफवान सफ्ट बीच भएको इन्टरनेट बैंकिङ सम्झौता रहेको छ ।’
यसरी ई–सेवाले संकलन गरेको डाटाबाटै गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा भोटिङ क्याम्पियन गर्न राजनीतिक दलहरुले प्रयोग गरेको पनि उजुरीमा उल्लेख गरिएको छ ।


