![]()
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अयोग्य ठहर गर्दा संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी ओलीमाथि नैतिक प्रश्न खडा भएको नेपाली काँग्रेसले जनाएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा समयमा मागेर बोल्दै नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले श्रावण १८ गते संसदीय समितिको बैठकले बिना कारण र आधार प्रधानन्यायाधिशमा सिफारिस गरिएका कामु प्रधानन्यायाधीश दिपकराज जोशीको सिफारिसलाई बहुमतको बलबाट अस्वीकृत गर्ने निर्णय गरेको भन्दै गम्भीर आपत्ती जनाए ।
उनले जोशीलाई सिफारिस गर्ने संबैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे।
समितिले शंकाको आधारमा बिना प्रमाण मनगणन्ते आधारमा जोशीको प्रस्ताव अस्वीकृत गर्ने काम गरेको र यसले स्वतन्त्र न्यायपालिकामाथि निर्मम रुपले प्रहार गर्ने काम भएको भन्दै कांग्रेसले अबैध ठहर गरेको पनि उनले बताए । न्यायपालिका जस्तो संवेदनशील र गम्भीर विषयलाई दुई तिहाई बहुमतको आधारमा गरिएको निर्णयप्रति कांग्रेसले घोर आपत्ती जनाएको पनि उनले स्पष्ट पारे । कार्कीले आफ्नो धारणा राख्दै गर्दा सत्तापक्षका सांसदहरु खगराज अधिकारी र विरोध खतिवडाले उठेर विरोध जनाएका थिए ।


