Breaking News.... EverestOnlineKhabar
July 10, 2026

Loading

बीबीसी । अमेरिकाले इरानविरुद्ध लगाएको नयाँ प्रतिबन्धबाट आफ्ना कम्पनीहरूलाई छुटकारा दिन युरोपेली संघको उच्चस्तरीय अनुरोधलाई अमेरिकाले अस्वीकार गरिदिएको छ।

युरोपेली समकक्षीहरूलाई पत्र लेख्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र अर्थमन्त्री स्टिभ मनुसिनले यसअघि कहिल्यै नभएको आर्थिक दबाब इरानलाई अमेरिकाले दिन चाहेको बताएका छन्। मे महिनामा राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१५ मा तेहरानसँग भएको परमाणु कार्यक्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए।

इरानले यदि युरोपले आर्थिक फाइदाको ग्यारेन्टी लिइरहन नसक्ने भए आफू उक्त सम्झौतामा नरहने बताएको छ। विशेष परिस्थितिबाहेक आफ्नो नीतिलाई अपवाद बनाउने अवस्थामा नरहेको पनि उक्त पत्रमा उल्लेख गरिएको छ। तेहरानविरुद्ध लगाइएको नयाँ प्रतिबन्ध प्रारम्भिक चरणमा अर्को महिनाको शुरुबाट कार्यान्वयनमा जानेछ।

वाशिङ्टनको नयाँ प्रतिबन्धले आफ्नो अर्बौँ डलर बराबरको व्यापार खतरामा पर्ने युरोपेली संघको चिन्ता रहेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१५ मा इरानसँगको परमाणु कार्यक्रम सम्झौताबाट पछि हटेसँगै गत मे महिनामा इरानमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका थिए।

तीन वर्षअघि परमाणु सम्झौता भएसँगै युरोपका केही ठूला कम्पनीहरूले इरानसँग व्यापार शुरू गरेका थिए। इरानको ऊर्जा क्षेत्रमा युरोपेली कम्पनीहरूले ठूलो लगानी गरेका छन्। सन् २०१७ मा युरोपेली संघले इरानमा जम्मा १२.९ अर्ब डलर बराबरको सेवा र सामानहरू निर्यात गरेको थियो भने त्यसको केही कम इरानबाट आयात गरेको थियो।

आयातको यो रकम सन् २०१६ को भन्दा झण्डै दोब्बर हो। अब अहिले इरानसँगको सम्झौतालाई निरन्तरता दिए त्यसले अमेरिकासँगको सम्बन्ध बिगार्ने हो कि भन्ने विषयलाई लिएर युरोपेली व्यापार चिन्तित देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed