![]()
चितवन । गृहमन्त्री रामबहादुर थापाले तोकिएको समयमा काम पूरा नगरी आलटाल गर्ने ठेकेदारहरुलाई कारवाही गर्नेक्रममा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई आफना घरबेटीलाई जोगाएको आरोप लागेपछि दाहालले मुख खोलेका छन ।
चितवनस्थित भरतपुर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारलाई कडा कार्वाही गर्ने चेतावनी दिए । समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई पनि कार्वाही गर्न सकिने उनले बताए ।
अध्यक्ष दाहालका घरबेटी शारदा अधिकारीले लिएको ठेक्काको काममा पनि लापरबाही भईरहेको गुनासो आईरहेको छ । अध्यक्ष दाहालले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई पनि कार्वाही हुने स्पष्ट पारेका हुन् ।
ठेकेदारमाथि कार्वाहीको विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफूले निर्देशन दिएको भन्ने समाचारमा सत्यता नरहेको उनको दाबी थियो ।
अध्यक्ष दाहालले मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न र विकास तथा समृद्धिको एजेन्डालाई नयाँ संकल्पका साथ अघि बढाउन राष्ट्रिय जनता पार्टी, नेपाललाई पनि सरकारमा ल्याउने प्रयास भईरहेको पनि जानकारी दिए ।


