![]()
काठमाडौं । सांसद गजेन्द्रबहादुर महत अर्थमन्त्रीले सांसदहरूको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रोएका छन्। आर्थिक वर्ष ०७५/७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै गर्दा सांसद महत प्रतिनिधि बैठकमै रोएका हुन्।
समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको र अर्थमन्त्रीले सांसदहरूको अपमान गरेको टिप्पणी उनले गरेका थिए। नेकपाका नेता महतले भने, ‘कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाँधेर राख्न पाइन्छ ? हामीलाई तह लगाउन पाइन्छ ? हामीलाई अपमानित गर्न पाइन्छ ? हामीलाई वडाअध्यक्षको ठाउँमा लिएर राख्न पाइन्छ भन्या ? कोही मन्त्री हुँदैमा यस्तो अपमान गर्न पाइन्छ ? त्यो अधिकार कसैलाई छ चाहिने कुरा गर्नुहोस् न भन्या।
यति भन्दा उनका आँखा आँशुले भिजिसकेका थिए ।
चाहिएको छैन हामीलाई चार करोड,’ उनले आक्रोश व्यक्त गर्दै भने, ४ करोडले हामीहरूलाई असाध्यै अपमान महसुस भएको छ, स्थानीय तहमा वडा अध्यक्ष र वडा सदस्य बसालेर विनियोजन गर्नुपर्ने? कहीँ मिल्ने कुरा हो? कसैले सहन्छ यस्तो? ‘ उनले रोष प्रकट गरे।
आफ्नो विरोधले केही नहुने जान्दा जान्दै पनि आफूले बजेटप्रतिको असन्तुष्टि राख्नुपरेको उल्लेख गर्दै उनले भने, ‘बजेटको मैले बचाउ गरिरनुपर्छ जस्तो लाग्दैन। कमजोर वस्तुको बचाउ गरिन्छ बलियो वस्तुको सायद बचाउ गरिन्न। सितिमिति सायद यो हल्लिँदैन। स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो तपाईंहरूको विरोधले मलाई केही हल्लाउँदैन। मैले त्यही शब्द सापटी लिएँ। विरोधले खासै हल्लिने देख्दिनँ। तर, पनि बजेटले मलाई हल्लाइरहेको छ। हुम्लालाई हल्लाइरहेको छ।’
बजेट शहरकेन्द्रित भएको भन्दै उनले कर्णाली र जुम्लालाई बजेटले सम्बोधन गर्न नसकेको गुनासो गरे । उनले भने, ‘बजेट मेरा लागि आकाशको फल आँखा तरी मर, लंकामा सुन छ कान मेरो बुच्चै, न घरको न घाटको, न हर्ष न विस्मात छ। मेरा लागि र मेरो जुम्लाका लागि।’
उनले सांसदलाई अपमान नगर्न अर्थमन्त्रीलाई सचेत पनि गराएका थिए। उनले भने, ‘अर्थमन्त्रीले सोच्नुहोस् कोही व्यक्ति मन्त्री हुँदैमा सांसदलाई अपमानित गर्न पाइँदैन।’


