![]()
बीबीसी । भारतको दक्षिणी राज्य केरलामा ‘निपा’ नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ । यसअघि नै १४ व्यक्तिको मृत्यु भएको र सोही संक्रमणबाट थप दुई व्यक्तिको मृत्यु भएपछि सो संख्या १६ पुगेको हो ।
पछिल्लो समय केरलाको कोझिकोडे मेडिकल कलेजमा ५६ वर्षीय एक पुरुष र २८ वर्षीया एक महिलाको मृत्यु भएको हो ।
साथै, यस निपा भाइरसबाट ९४ जना प्रभावित भएका र अझैपनि १७ जना उपचारकाक्रममा अस्पतालमा रहेका सो राज्यका स्वास्थ्यमन्त्री के के शैलाजाले बताएकी छन् ।
भारतमा निपा भाइरसको प्रकोप फैलिएको यो तेस्रोपटक हो । यसअघि, सन् २००१ मा र २००७ मा पनि भारतमा निपा भाइरसको प्रकोप फैलिएको थियो । त्यसबेला बंगलादेशको सीमा क्षेत्रमा पर्ने पश्चिम बंगलामा निपा भाइरसका कारण ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
यो भाइरसको प्रकोप सबैभन्दा पहिला सन् १९९९ मा मलेसियाबाट सुरु भएको थियो । स्वास्थ्य क्षेत्रका अधिकारीहरुकाअनुसार यस भाइरसको खोप बनेको छैन । यो भाइरसको संक्रमणले कडा मात्रामा ज्वरो आउने र श्वास–प्रश्वासमा असर गर्ने गर्दछ ।


