![]()
काठमाडौ,जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीमा पूर्व एमाले पक्षबाट मनोनित गरिएका तीन जना सदस्यको एक दिनमै नाम हटाएर अन्य ६ जनालार्इ थपिएको छ । अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा थपिएका मध्ये साध्यबहादुर भण्डारी, पुन्य गौतम र दयालबहादुर शाहीको नाम हटाइएको छ । उनीहरुको ठाउँमा शोभियत ढकाल, उमा कोइराला र नारायण ढकाल थपिएका छन् । त्यस्तै, भीम रावलको असन्तुष्टि सम्बोधन गर्दै ७ नम्बर प्रदेशबाट लालवहादुर विश्वकर्मा, दिपक देवकोटा र राजेन्द्रसिंह रावललाई पनि नेकपाको केन्द्रीय कमिटीमा थपिएको छ । रावलले दयालवहादुर शाहीको नाममा तीब्र आपत्ति जनाएका थिए ।
त्यस्तै, पुन्य गौतमको नाममा सबैतिरबाट आलोचना भएको थियो । तत्कालिन एमालेका नेताहरुले गौतमलाई केन्द्रीय सदस्य बनाउँदा बेइज्जत हुने भन्दै उनको नाम हटाउन दबाब दिएका थिए । नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालिन एमालेले २४१ सदस्य पाएको थियो । तीमध्ये बिभिन्न आयोगका अध्यक्षलाई पनि जोडेर २०० संख्या पुर्याइए पनि उनीहरु केन्द्रीय कमिटी सदस्य होइनन् । अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा,सल्लाहकार परिषदका अध्यक्ष केशव बडाल,लेखा आयोगका अध्यक्ष डा।पुष्प कडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी ४४१ सदस्यीय कमिटीभित्र नरहने भएका छन् । उनीहरुको हैसियत आमन्त्रितका रुपमा रहनेछ ।
चार नेता आमन्त्रितमा परेपछि एमालेको तर्फबाट २६ सदस्यीय स्थायी कमिटीमा चार नेता थपिएका छन् । थपिनेमा बिष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल र रघुवीर महासेठ छन् । रिमाल, भुसाल र महासेठ नवौं महाधिवेशनमा सचिव पदमा उम्मेदवार बनेर पराजित भएका थिए भने पन्त उपमहासचिवमा पराजित भएका थिए ।


