Breaking News.... EverestOnlineKhabar
July 7, 2026

चिनियाँ नाका रसुवागाढी जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न, रक्षामन्त्री ईश्वर पोखरेलबाट उद्घाटन

Loading

काठमाडौं ।  चिनियाँ नाका रसुवागाढी जोड्ने गरी १७ किमीको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न भएको छ । नेपाली सेनाले निर्माण गरेको यो सडकको आइतबार रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गर्नुभयो ।

सडकको उद्घाटन गर्दै मन्त्री पोखरेलले चीनसँगको नाकासम्मको यात्रा सहज हुने बताउनुभयो । सरकारले चीनसँगको कनेक्टिभिटीमा जोड दिंदै यो सडकलाई नेपाल–चीन व्यापारिक मार्गका रुपमा बिकास गर्न खोजेको छ ।

दुई लेनको यो सडकको २०७२ को बैशाखबाट निर्माण सुरु भएको थियो । रसुवागढी जोड्ने यो मैलुङ–स्याफ्रुबेसी सडक सेनाले सरकारलाई हस्तान्तरण गर्नेछ । यो सडक निर्माणका लागि ७० करोड ६९ लाख ९० हजार खर्च भएको सेनाले जनाएको छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रुबेसी जोड्ने सडक भन्दा यो २५ किलोमिटर छोटो छ । सुरुमा सिंगल लेन बनाउने भनिएको यो सडक पछि दुई लेनको बनाइएको हो ।

नेपाल र चीनबीच भएको यातायात तथा पारवहन सम्झौता अन्तगर्त प्राथमिकतामा राखेर यो मार्गलाई सबै सिजनमा चलाउन सक्ने मार्गका रुपमा बिकास गर्न खोजिएको छ । चीनले समेत आवश्यक परेमा सहयोग गर्ने बताउँदै आएको छ ।

सेनाका अनुसार, यो सडक सञ्चालनमा आएपछि राम्चेको पहिरोको अप्ठेरो सडक हुँदै रसवागढी जानुपर्ने बाध्यता हटेको छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न ५४ किलोमिटरको सडक पार गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.