![]()
काठमाडौं । २ नम्बर प्रदेशको संरचनाप्रति नै एमाले असन्तुष्ट थियो । पहाडसंग नजोडि बनाइएको यो प्रदेशको संरचनाले मात्र होइन यहाँका मुख्यमन्त्री र सांसदहरुले पनि प्रधानमन्त्रीको निद हराम गरेका छन ।
मुख्यमन्त्री भए लगत्तै लालबाबु राउतले प्रधानमन्त्री केपी ओलीलाई अधिकार नमिच्न चेतावनीसहित असन्तोषको पत्र पठाएका थिए । लगत्तै उनले बजेट नदिएको भन्दै प्रधानमन्त्रीको सार्वजनिक आलोचना गरेका थिए ।
हालसालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले विवादस्पद अभिव्यक्ति दिए । प्रधानमन्त्री ओलीले यो बिषयको संसदमै खण्डन गर्नुपर्यो । पार्टीकातर्फबाट पनि बिज्ञप्ती निकाल्न लगाएर उनले राउतको अभिव्यक्तिप्रति आपत्ती जनाए । हुँदाहुँदा अब प्रदेश २ का सांसदहरुले पनि उनीमाथि दबाब बढाएका छन ।
सरकारले नयाँ आर्थिक बर्षका लागि ल्याउन लागेको बजेटका बिषयमा प्रदेश २ का सांसदहरुले मंगलबार ज्ञापनपत्र नै बुझाएका छन ।
सांसदहरुले मुख्य रुपमा तीन वटा विषयलाई प्रधानमन्त्री समक्ष उठाएका थिए। प्रदेश २ लाई सम्बृद्ध बनाउन कृषि, औद्योगिक र रोजगारीका क्षेत्रमा सरकारले बजेट विनियोजन गर्नुपर्ने माग सांसदहरुले गरेका थिए। यस्तै, प्रदेश २ लाई विशेष औद्योगिक करिडोर बनाउनका लागि बजेटमा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरको थिए । त्यस्तै, तराई मधेशलाई अन्नको भण्डार बनाउन कृषि क्षेत्रको प्रवर्द्धनका लागि सिंचाई योजना अगाडि बढाउन पनि उनीहरुले माग गरेका छन ।
सुनकोसी कमला डाइभर्सन र सुनकोसी मरिन वाग्मती डाइभर्सन निर्माणका लागि पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको एक सांसदले जानकारी दिए ।


