![]()
बीबीसी । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उत्तर कोरियासँग हुने कुनै पनि संवादले उसको पारमाणविक अस्त्र कार्यक्रम अन्त्य गर्नुपर्ने बताएको छ।
शीतकालीन ओलिम्पिक्सका क्रममा उत्तर कोरियाली प्रतिनिधिमण्डलले वाशिङटनसँग संवादका लागि इच्छा जाहेर गरेको कुरा दक्षिण कोरियाले बताएपछि ह्वाइट हाउसले त्यसप्रति प्रतिक्रिया जनाएको हो। ह्वाइट हाउसले भनेको छ, उत्तर कोरियाले निश्शस्त्रीकरणको बाटो अवलम्बन गरेमा उसका लागि ’उज्यालो बाटो’ छ र वार्ताका लागि निश्शस्त्रीकरण शर्त पनि हो।
यसअघि उत्तर कोरियाली विदेशमन्त्रीले शीतकालीन ओलिम्पिक्सका क्रममा दुई कोरियाले गरेको सहकार्यको प्रशंसा गरेका थिए। तर अमरिकाले लगाएको पछिल्लो प्रतिबन्धलाई युद्धका गतिविधि भन्दै उनले निन्दा गरे।
शीतकालीन ओलिम्पिक्समार्फत उत्तर कोरियाले दक्षिण कोरियासँगको आफ्नो सम्बन्ध सुधार गर्ने प्रयासहरू अघि बढाएको देखिन्छ।
आफ्ना खेलाडी र खेलाडीलाई हौस्याउने ’चियर लिडर’हरू बाहेक उत्तर कोरियाली नेताकी बहिनी किम यो जोङले ओलिम्पिक्सको उद्घाटन समारोहमा भाग लिएकी थिइन्। तर संयुक्त राज्य अमेरिकासँग भने त्यही तह र भावनामा उत्तर कोरियाले सम्बन्ध कायम गर्न सकेन ।
ओलिम्पिक्स उदघाटन समारोहका लागि तय भएको एउटा बैठक अचानक रद्द गरियो र अघिल्लो हप्ता मात्रै राष्ट्रपति ट्रम्पले उत्तरविरूद्ध नयाँ प्रतिबन्धहरू घोषणा गरे।
तर ओलिम्पिक्सको समापन समारोहको केही अघि मात्रै दक्षिण कोरियाली राष्ट्रपति मून जे इनसँग भएका वार्तामा उत्तर कोरियाली अधिकारीहरूले अमेरिकासँग संवाद गर्ने इच्छा प्रकट गरेका थिए।


