![]()
स्थानीय तहको निर्वाचनको घोषित मिति वैशाख ३१ नजिकिँदै छ । चुनाव नजिकिँदै गर्दा देशभर चुनावी चहलपह निकै बढ्न थालेको छ । चुनाव हुन्छ/हुँदैन भन्ने आशंका र द्विविधाको केही अंश अझै बाँकी नै रहेको भए पनि चुनावका सम्भावित उम्मेद्वार, आकांक्षी, राजनीतिक दलहरु र आम मतदाताले आन्तरिक तयारीलाई भने तीव्र बनाइरहेको अवस्था छ ।
दलहरुलाई धेरै आकांक्षीहरुको बीचबाट निष्पक्ष र समावेशी रुपमा सक्षम र सवल उम्मेद्वार छान्ने काम हम्मेहम्मे परिरहेको छ । स्थानीय तह निर्वाचन ऐनले मेयर वा उपमेयरमा एक महिला हुनुपर्ने अनिवार्य प्रावधान राखेका कारण दलहरु अहिले मेयर र उपमेयरमा एकै पटक दुईको नाम तय गर्न लागि परेका छन् । तर, ‘उपमा मात्रै महिलालाई सीमित गर्न खोजिएको’ भन्ने महिला नेतृत्वको गुनासो कम्ति जोडदार रुपमा उठेको छैन । यी सबै कठिनाइका बीच उम्मेद्वार टुंगो लाउने काम फत्ते गर्न दलका शीर्ष नेतृत्व कम्मर कसेर लागेका छन् ।
झण्डै २ दशक अर्थात १९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा आफ्नो ‘पोजिशन’ सुधार्न राजनीतिक दलहरू तयारीमा जुटेका छन् । निर्वाचनबाट ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिकामा जनप्रतिनिधि चयन हुनेछन् । सबैजसो स्थानीय तहहरुमा चुनावी प्रतिस्पर्धाका लागि एउटा कसिलो तयारी हुँदै छ । तर, केन्द्र काठमाण्डौंमा सबैको ध्यान केन्द्रित छ यतिबेला । काठमाण्डौं महानगरपालिकाको मेयर–उपमेयरले को बन्ला भन्ने कौतुहलता आम नागरिकमा छ ।
काठमाडौंको मेयरमा पुरुषलाई उम्मेदवार बनाउँदा महिलालाई उपमेयरको लागि उम्मेदवारी दिन बाटो खोलदिनु पर्नेहुन्छ । यस्तोमा राजधानीको नेवार समुदायको प्रतिनिधित्वको दबाबपूर्ण माग पनि दलहरुलाई कम्ती टाउको दुखाइको विषय बनेको छैन ।
को को छन् कांग्रेसका सम्भावित उम्मेद्वार ?
काठमाण्डौ महानगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका तीनजना आकांक्षी उम्मेदवार देखिएका छन् । नरोत्तम वैद्य, प्रगति रञ्जित, राजुराज जोशीले मेयरका लागि आफ्नो नाम अघि सारेका छन् । यता नेता कृष्ण सिटौला पक्षले स्वास्थ्यमन्त्री गगन थापालाई उम्मेदवार बनाउन चाहे पनि थापाले उम्मेदवारीमा कुनै आकांक्षा नरहेको सरल पत्रिकालाई बताएका छन् । त्यस्तै, कांग्रेसमा नविन्द्रराज जोशीको नाम पनि चर्चामा छ ।
उद्योगमन्त्री रहेका जोशी २०४९ सालको स्थानीय निर्वाचनमा काठमाण्डौमा पिएल सिंहका उपमेयरको रुपमा निर्वाचित भएका थिए । नेवार समुदायबीच राम्रो पकड भएकाले पनि कांग्रेसमा मन्त्री जोशीको नाम चर्चामा छ । तर, मन्त्री जोशी आफैंले भने आफू काठमाडौंको मेयरमा नउठ्ने बताए ।
कांग्रेसबाट काठमाडौंको उपमेयरमा प्राध्यापक अमुदा श्रेष्ठको नाम चर्चामा छ । उनी यस अघि शंकरदेव क्याम्पसमा प्रमुखसमेत थिइन् ।
कसकसको नाम चर्चामा छ एमालेका ?
नेकपा एमालेले काठमाण्डौ महनागरपालिकाको सम्भावित मेयर र उपमेयरको उम्मेदवार चयन गर्न प्रारम्भिक गृहकार्य सुरु गरिसकेको जनाएको छ । एमालेबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा प्रबल दाबेदार उम्मेदवारका रूपमा सचिव योगेश भट्टराईको नाम चर्चा छ । तर, भट्टराई स्वयंले भने यो केबल हल्ला मात्र भएको बताए । काठमाण्डौको मेयरमा उठ्ने आफ्नो योजना नरहेको उनले बताए । ‘म त मेरो नाम बाहिर हल्ला गर्नेलाई धन्यवाद दिन्छु,’ उनले भने ।
काठमाण्डौको उपमेयरमा भने एकालेबाट रञ्जना मास्के र शान्ति अधिकारी उपमेयरका लागि चर्चामा छन् ।
माओवादी केन्द्रका हिमाल र रेणु
नेकपा माओवादी केन्द्रबाट काठमाण्डौको मेयर पदका लागि हाल अर्थमन्त्रीको स्वकीय सचिव रहेका हिमाल शर्माको नाममा चर्चा छ । यस्तै प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहाल पनि मेयरको उम्मेदवार बन्ने चर्चा माओवादी केन्द्रमा अहिले निकै चलेको छ ।
राप्रपामा राजाराम र रेखाको चर्चा
यता राप्रपाले काठमाण्डौ महानगरपालिकाको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपमेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

हालै मात्र राप्रपामा प्रवेश गरेकी नायिका थापा राप्रपाको महाधिवेशनमा केन्द्रीय सदस्यमा निवार्चित भएकी थिइन् । दोस्रो संविधानसभामा नायिका थापालाई माओवादीले समानुपातिकतर्फ सभासदको टिकट दिने निर्णय गरेको थियो । तर, थापाको मतदाता नामावलीमा नामै नभएकाले उनी सभासद बन्न पाइनन् । मोरङमा जन्मेकी रेखा हाल राजधानीको मित्रपार्कमा बस्छिन् । अहिले भने नायिका थापाले काठमाण्डौको वडा नं ७ बाट मतदान गर्न पाउने भएकी छिन् । यसपटक उनको मतदान केन्द्र पशुपति क्याम्पसमा परेको छ । उनकोे मतदाता नामावलीको क्रमसंख्या १२६० हो र मतदाता नम्बर २०९४०४९९ रहेको छ ।
साझा पार्टीबाट एसएलसी टपर किशोर थापा
रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सरकारका पूर्वसचिव किशोर थापालाई मेयरमा उम्मेदवार बनाउने घोषणा गरेका छ । उनी नेपाल सरकारका पूर्व सचिव र २०३१ सालको एसएलसी परीक्षामा बोर्ड फर्स्ट पनि हुन् ।
साझा पार्टीले उपमेयरको भने अझैसम्म टुंगो नलागेको साझा पार्टी केन्द्रीय समन्वय समितिका सदस्य प्रकाश चन्द्र परियारले जानकारी दिए ।
विवेकशीलबाट २१ वर्षीया रञ्जु दर्शना
विवेकशील नेपाली दलले आगामी स्थानीय चुनावमा २१ वर्षकी रञ्जु दर्शनालाई काठमाण्डौ महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ । विवेकशील नेपाली दलले आह्वान गरेको खुला उम्मेदवार नीति अन्तर्गत काठमाण्डौको मेयर पदको लागि दर्शनाले उम्मेदवार बन्न चाहेको बताएकी थिइन् ।



