Breaking News.... EverestOnlineKhabar
April 28, 2026

मन्त्रीद्वारा मधेसका नेतामाथि बम खसाउन माग !

Loading

नेपाली काङ्ग्रेसको २ नम्बर प्रदेशका आठै जिल्लाका सभापति, प्रदेशभरका काङ्ग्रेसी सांसद्हरू, केन्द्रिय सदस्यहरूसहितलाई भेला गरी काङ्ग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पार्टी कार्यालय सानेपमा एक विशेष बैठक आयोजना गर्नुभयो । चुनावी कार्यक्रम तथा रणनीति निर्माणको लागि डाकिएको सो बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।

पार्टी कार्यक्रमकै सिलसिलामा शनिबार नै जिल्ला जान हतारिनुभएका नेता पौडेलले सुरुमै आफ्नो भनाई राख्दै मधेसमा खास समस्या नरहेको तर्क गर्नुभयो । नागरिकताको मुद्धामा मधेसलाई मिलाउन सके अरु कुराले बाधा नपार्ने आशय प्रकट गर्दै उहाँले चुनावको तयारीमा जुट्न सबैसँग आग्रह गर्नुभयो । ‘चुनावी कार्यक्रम लिएर जान ढिलो भइसक्यो, हामी तयारीमा जुट्नुपर्छ, अब आमसभालगायतका कार्यक्रम आयोजना गर्नुपर्छ, मधेसका साथीहरू ढिलो नगरी लागि पर्नुहोस्’, यस्तै आग्रह गर्दै एक–दुई जनाको भनाई सुनेर रामचन्द्र पोडेल बैठकबाट बाहिरिनुभयो ।

त्यसपछि आठ नम्बर प्रदेशका उपस्थित सभापति, सांसद्, केन्द्रिय सदस्यहरूले सभापति देउवा समक्ष एक स्वरले भने– ‘सभापतिज्यु, नेता पौडेलजीले भन्नुभएजस्तो मधेसमा सजिलो अवस्था छैन, हामी चुनावी कार्यक्रम लिएर यत्तिकै मधेस छिर्न सक्ने अवस्था नरहेकोले पहिले मधेसको समस्या समाधान हुनुपर्छ ।’

देउवाले गम्भीरतापूर्वक २ नम्बर प्रदेशका पार्टी–नेताहरूको कुरा सुन्नुभयो । उहाँले केही बोल्नुअघि पार्टी कोषाध्यक्ष तथा मन्त्री सीतादेवी यादवले निकै भावुक मुद्रामा प्रस्तुत हुँदै भन्नुभयो– ‘सभापतिज्यु, अहिलेको अवस्थामा मधेसमा चुनावसम्बनधी कुनै पनि कार्यक्रम लिएर जानसक्ने हालतमा हामी छैनौँ । यसो भन्दाभन्दै पनि तपाईं बलजफ्ती हामीलाई चुनावी कार्यक्रम लिएर मधेस छिर्नैपर्छ भन्नुहुन्छ भने म एउटा आग्रह गर्न चाहन्छु कि बरु मधेसका हामी सबै सांसद्, मन्त्री, केन्द्रिय सदस्य तथा जिल्ला सभापतिहरूलाई एउटा घरभित्र राखेर माथिबाट बम खसाएर सिध्याइदिनुस् ।’

कोषाध्यक्ष सीतादेवीको यस्तो आग्रह गरेपछि वातावरणमा सन्नाटा छायो, सबै स्तव्ध भए र सभापति देउवा पनि हतप्रभ देखिनुभयो । परिस्थितिको आँकलन गर्दै सभापति देउवाले भन्नुभयो– ‘ ठिक छ, म सबै साथीहरूसँग छलफल गरेर १–२ दिनमा निर्णय गर्नेछु ।’

सभापति देउवाले एक–दुई दिनमा कस्तो निर्णय गर्नुहुने हो, तीव्र प्रतीक्षाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed