Breaking News.... EverestOnlineKhabar
February 7, 2026

नेपाल–चीन संयुक्त सैन्य तालिम आयोजना हुँदै

Loading

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य तालिम आयोजना हुने भएको छ । विश्वको गम्भीर सुरक्षा चुनौतीको रुपमा देखा पर्दै गइरहेको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर राखी पहिलो पटक नेपाल–चीन विशेष फौज संयुक्त सैन्य तालिम सञ्चालन हुन लागेको हो । सैनिक जनसम्पर्क निर्देशनालयले जनाएअनुसार ‘सगरमाथा फ्रेण्डसीप–२०१७’ नामाकरण गरिएको सो संयुक्त सैन्य तालिम २०७४ वैशाख ३ देखि १२ गतेसम्म नेपालमा आयोजना हुने छ ।

यस संयुक्त तालिमबारे प्रष्ट्याउँदै नेपाली सेनाले भनेको छ– ‘नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही नेपाली सेनाले सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा छिमेकी राष्ट्रहरूलगायत अन्य मित्रराष्ट्रहरूसँग द्विपक्षीय तथा बहुपक्षीय रूपमा तालिम, सेमिनार तथा अभ्यासहरूमार्फत आफ्नो ज्ञान, सीप तथा अनुभवहरू आदान–प्रदान गरी पेशागत क्षमता अभिवृद्धि गर्दै आएको सर्वविदितै छ । त्यस सन्दर्भमा विपद् व्यवस्थापन लगायत अन्य साझा सरोकारका विषयवस्तुहरुमा केन्द्रित रही दौत्य सम्बन्ध रहेका विभिन्न देशका सैनिकहरुसँग समय–समयमा संयुक्त तालिम, सेमिनार तथा अभ्यासहरु सञ्चालन गर्दै आएको छ । छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरुलाई निरन्तरता दिने क्रममा विश्वको गम्भीर सुरक्षा चुनौतीको रुपमा देखा पर्दै गइरहेको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर राखी पहिलो पटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग मिति २०७४ वैैशाख ३ गतेदेखि १२ गतेसम्म नेपाल–चीन विशेष फौज संयुक्त सैन्य तालिम ‘सगरमाथा फ्रेण्डसीप–२०१७’ नेपालमा सञ्चालन हुन गइरहेको कुरा अवगत गराउन चाहन्छौँ ।’

नेपाल र चीनका सेनाले आ–आफ्नो अनुभव आदानप्रदान गर्दै पेशागत क्षमता अभिवृद्धिका लागि नियमित रूपमा सञ्चालन हुने यस प्रकारको द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासबाट सैनिक ज्ञान तथा पेशागत क्षमता अभिवृद्धि गर्नुको साथै सैनिक तथा कुटनीतिक सम्बन्ध अझ दह्रिलो बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.