![]()
काठमाडौं । अन्ततः प्रदेश सरकार निर्माण र पद बाँडफाँडमा नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति भएको छ । आइतबार दिनभर शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएपछि संयुक्त कार्यदलले पद बाँडफाँडको भागवण्डा मिलाएको हो ।
वाम गठबन्धनले प्रदेश सरकारमा बढीमा ११ मन्त्री मात्र बनाउने सहमति गरेको छ । सहमति अनुसार एमालेले चार मुख्यमन्त्री र चार सभामुख लिएको छ भने माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाएको छ । उपसभामुख भने माओवादीले चार वटा लिनेछ र एमालेको भागमा दुई परेको छ ।
कार्यदलका संयोजक एवं एमाले नेता सुवास नेम्वाङका अनुसार प्रदेश सरकारका मन्त्रीहरु समग्रमा ७० प्रतिशत एमाले र ३० प्रतिशत माओवादीबाट हुनेछन ।
प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ । प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले पाएको छ । प्रदेश ६ को मुख्यमन्त्री माओवादीलाई नदिन एमाले नेताहरुले नेतृत्वलाई चर्को दबाव दिएका थिए ।
यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख माओवादीले लिनेछ । एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेबाट उपसभामुख हुनेछन् ।


