Breaking News.... EverestOnlineKhabar
May 2, 2026

कांग्रेसमा ३ कोइराला सक्रिय,पार्टी नेतृत्व कोइराला परिवारमै फर्काउने प्रयास

Loading

काठमाडौ,माघ ।
पार्टीले २०७४ सालको संसदीय निर्वाचनमा नराम्रो पराजय भोगेपछि कोइराला परिवारको बिरासत थाम्ने नेपाली कांग्रेसका दोस्रो तहका नेताका रूपमा चिनिएका तीन कोइराला अघिसरेका छन् । यसरी अघि सर्नेमा बीपी पुत्र डा. शशांक कोइराला, बीपीका भाइ केशव कोइरालाका पुत्र डा. शेखर कोइराला तथा वीपीका कान्छा भाइ तथा लामो समय प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला छन् ।
यी दोस्रो पुस्ताका कांग्रेसी नेताहरू नेपाली कांग्रेसको सभापति रहेका शेरबहादुर देउवाको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै छुट्टै रणनीति बनाउने तयारीमा जुटेका छन् । यी तीन दाजु बहिनीबीच नेपाली कांग्रेसको नेतृत्व कसरी भागवण्डा गर्ने भन्ने विषयमा भने सहमति जुटिसकेको छैन । आइतवार कोइराला त्रयको बैठक बस्ने भनिए पनि विशेष कारणले बैठक हुन नसकेको पोस्टको समाचारमा लेखिएको छ । अहिले संसदीय दलको नेतृत्व वर्तमान महामन्त्री डा. शशांक कोइरालाले सम्हाल्ने र पार्टीको जिम्मेवारी डा. शेखर कोइरालाले लिने भन्ने मोटामोटी सहमति भएको स्रोतको दावी छ ।
यस विषयमा अघि बढ्न पहिले पार्टीको केन्द्रीय समितिको बैठक बस्नुपर्ने र त्यसपछि महासमितिको बैठकबाट नीतिगत सुधारका विषय अघि बढ्ने नेपाली कांग्रेसका एक युवा नेताले जनाए । कोइराला त्रय बाहेक कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेतृत्वको विरोध सुरु गरेका छन् । राष्ट्रिय सभाको निर्वाचनको तयारीका लागि रणनीति छलफल गर्न बसेको सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा पौडेलले सभापति शेरबहादुर देउवालाई संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न दबाब दिएका छन् ।
कांग्रेसको विधानविपरीत गठन भएकाले यी समिति खारेज गर्न आफूले दबाब दिएको र सभापतिले आफ्नो मागअनुरूप चाँडै कदम चाल्ने विश्वास पनि पौडेलले देखाएका छन् । कांग्रेसको विधानमा संसदीय समिति बढीमा १४ सदस्यीय हुने प्रावधान रहे पनि अहिले २४ जना र कार्यसम्पादन समतिमा २९ जना छन् । पौडेलले कांग्रेसको केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने तथा पार्टीका ४२ विभाग र चार वटा समितिलाई पूर्णता दिनुपर्ने माग पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed