![]()
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सफल बनाउने दायित्व कम्युनिष्ट क्रान्तिकारीहरुको भएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले माओवादी आन्दोलन कमजोर हुँदा गणतन्त्र, संघीयता जस्ता उपलब्धलाई उल्टयाउने प्रयास भइरहेको दावीसमेत गरे । काठमाडौंमा आयोजित टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रबीचको एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै उनले परिवर्तनलाई संस्थागत गरी मुलुकलाई समाजवादतर्फ उन्मुख गराउन पनि कम्युनिष्ट क्रान्तिकारीहरुबीच एकता हुनुपर्ने आवश्यक्ता औंल्याए । प्रधानमन्त्री दाहालले जनताको घरदैलोमा अधिकार पुग्ने गरी स्थानीय तहको निर्वाचन सम्पन्न हुन लागेको उल्लेख गर्दै त्यसलाई सफल बनाउन पनि कम्युनिष्ट क्रान्तिकारीहरुबीच एकतावद्ध प्रयास हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले छोटो समयमै उल्लेख्य प्रगति गरेको दावी समेत गरे । उनले स्थानीय तहको निर्वाचन घोषणा गर्नु, लोडसेडिङ अन्त्य गर्दै लैजानु, आर्थिक वृद्धिदर सकारात्मक देखिनु, भारत–चीनबीचको सम्बन्ध सन्तुलित बनाउन आफू नेतृत्वको सरकारको उपलब्धि भएको पनि स्मरण गराए ।
सिपी मैनाली नेतृत्वको नेकपा मालेबाट अलग भई नेपाल कम्युनिष्ट पार्टी खोल्नु भएका राईले माओवादी केन्द्र कमजोर हुँदा मुलुकको राष्ट्रियता कमजोर भएकाले पार्टी एकता गरिएको बताए । उनले माओवादी केन्द्रकै एजेन्डा अनुसार मुलुकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्न पनि पार्टी एकता गरिएको उल्लेख गरे । राईलाई माओवादी केन्द्रको केन्द्रिय कार्यालय सदस्यको जिम्मेवारी दिने सहमति भएको छ ।


